शान्ति सुरक्षा विगतको भन्दा खस्कन नदिई थप सुद्रिढ गर्ने डिएसपी जोशीको प्रतिबद्धता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १४ । ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)उमेश जोशीले शान्ति सुरक्षा सम्झौताहिन बिषय भएको बताउँदै शान्ति सुरक्षाको अवस्था विगतको भन्दा कम हुन नदिई अभिबृद्धितर्फ केन्द्रित गर्ने बताउनु भएको छ । यहाँको नयाँ प्रहरी प्रमुखको कार्यभार सम्हालेपछि बिहीबार ताप्लेजुङका सञ्चारकर्मीसंगको परिचयात्मक कार्यक्रममा डिएसपी जोशीले जिल्लाका सवालहरुको प्रारम्भिक जानकारी लिई‘एक्सन’समेत सुरु गरीसकिएको बताउनुभयो ।
जोशीले आवश्यकता बढी गति भएका सवारी माथि निरागानी बढाई आवश्यक कारवाही समेत सुरु गरी सकिएको बताउनुभयो । सम्भावित अवाञ्छित गतिविधिलाई ध्यानमा राखी प्रहरी गस्तिमा बृद्धि गरिएको उहाँको भनाई थियो । डिएसपी जोशीले सदरमुकाम फुङलिङको सवारी जामलाई व्यवस्थित गर्न आफुले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन दिई सकिएको बताउनुभयो । सवारी पार्किङको समस्या समाधान गर्न आफुले कार्ययोजनाको तयारी थालेको र चाँडै कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो । शान्ति सुरक्षाका चुनौति समाधान गर्न समाजका सदस्यहरुको समेत भूमिका हुने भएकोले यस कार्यमा नागरिकसंग सहकार्यका लागि उहा्ले प्रस्ताव समेत गर्नु भएको छ् । सम्भावित अपराधका घटनाका बारेमा समुदायले चाँडो सूचना पाउने भएकोले अपराध नियन्त्रणका लागि सहि सूचना दिएर अवाञ्छित गतिविधि नियन्त्रणमा समुदायले भूमिका खेल्न सक्ने बताउनुभयो । शान्ति सुरक्षा कायम गर्न तथा अपराधरहित समाज बनाउन डिएसपी जोशीले प्रहरी–समुदाय साझेदारीको आवश्यकता औंल्याउनुभयो । उहाँले शान्ति सुरक्षाका चुनौतिको सामनामा आफ्नो सम्पूर्ण शक्ति र विवेक प्रयोग गर्ने बताउनुभयो ।
‘पहिलाको भन्दा शान्ति सुरक्षाको अवस्था खस्कदैन,बरु थप सवल बन्ने छ’आशा जगाउँदै उहाँले भन्नुभयो । प्रहरीले कार्य सम्पादन गरेका असल अभ्यास तथा सच्चिनु र सच्याईनुपर्ने बिषयको खबरदारीका लागि सञ्चारकर्मीबाट आफु र जिल्ला प्रहरी कार्यालयले अपेक्षा राखेको डिएसपी जोशीको भनाई थियो । चीन र भारतलाई छोएको ताप्लेजुङको भूगोल र अन्तरसीमा गतिविधिका बारेमा आफुले नियमित निगारानी गर्ने जोशीले बताउनुभयो । लागु औषध दुव्र्यसन नियन्त्रणका लागि कडाईका साथ प्रस्तुत हुने बताउनु भएका उहाँले अवैध सवारीको प्रयोग भएको भए त्यसलाई रोक्न सम्पूर्ण सार्मथ्य प्रयोग गर्ने समेत बचनबद्धता व्यक्त गर्नुभयो । सञ्चार क्षेत्रलाई आफ्नो निकायले प्रदान गर्ने सूचनाको सहज पहुँच स्थापित गर्ने उहाँको भनाई थियो । डिएसपी बेदप्रसाद गौतमको सरुवा भएपछि गत आइतवार यहाँ आउनु भएका डिएसपी जोशीले विपद्का पूर्व तयारी तथा प्रतिकार्यका लागि समुदायसंग नियमित सहकार्य गर्ने समेत बताउनुभयो ।