| |

ओलाङ्चुङगोलाका छेतेनटासीले गरे कञ्चनजंघाको आरोहण

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ८ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका छेतेन टासी शेर्पाले कञ्चनजंघा हिमाल आरोहण गर्नुभएको छ । बुधबार अर्थात मे २० का दिन बिहान १२ बजेको समयमा शेर्पा कञ्चनजंघाको चुचुरोमा पुग्नुभएको हो ।
फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार शेर्पाले आठ हजार ५८६ मिटर उचाइ रहेको विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको छ । शेर्पाले कञ्चनजंघाको सफल आरोहणसँगै कञ्चनजंघा चुचुरोमा गाउँपालिकाको झण्डा र लोगो (प्रतीक चिन्ह) फहराउनुभएको छ ।
शेर्पाले चौथो पटक कञ्चनजंघाको सफल आरोहण गर्नुभएको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । अध्यक्ष लिम्बूका अनुसार यसपटक कञ्चनजंघा हिमाल आरोहण यात्रामा निस्किनुभएका शेर्पालाई गाउँपालिकाको लोगो अंकित झण्डा दिएर आरोहण सफलताको शुभकामनासहित पालिकाले बिदाइ गरेको थियो ।
इम्याजिन नेपालका अनुसार ओलाङ्चुङगोलाका शेर्पासहित सोही समयमा चार जनाले कञ्चनजंघाको सफल आरोहण गर्नुभएको छ । अन्य कञ्चनजंघा हिमाल आरोहण गर्नेमा दावा ग्यान्जे शेर्पा, बुद्धबहादुर गुरुङ र पाकिस्तानका सोहल शेहजाद रहनुभएको छ ।

Similar Posts