पूर्वाधार कार्यालयमा निर्माण व्यवसायीले दिए धर्ना
-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १ । ताप्लेजुङस्थित पूर्वाधार विकास कार्यालयमा निर्माण व्यवसायीले धर्ना दिएका छन् । अत्यधिक मूल्यवृद्धिपछि निर्माण क्षेत्रमा आइपरेको समस्याप्रति सरकार उदासिन भएकोभन्दै निर्माण व्यवसायीले पूर्वाधार विकास कार्यालयमा शुक्रबार धर्ना दिएका हुन् ।
निर्माण व्यवसायमा परेको असरसँगै व्यवसायीले खेप्नुपरेको मार्काका विषयमा सरकारसमक्ष विभिन्न माग राखे पनि बेवास्ता गरिएकाले आन्दोलित हुनुपरेको निर्माण व्यवसायीको भनाइ छ । पेट्रोलियम पदार्थसहित निर्माण सामग्रीको अचाक्ली मूल्यवृद्धिका कारण निर्माणसम्बन्धी काम अघि बढाउन नसकिने भन्दै निर्माण अवधि (म्याद) थप गर्नुपर्ने र महंगीअनुसार बजेट व्यवस्थापन गर्न निर्माण व्यवसायीले सरकारसँग माग गरेका छन् ।
मूल्यवृद्धिकै कारण निर्माण व्यवसाय धरासायी बन्दै गएको र थप बजेट व्यवस्थापन नहुँदासम्म यसअघिका योजनाहरुको काम गर्न नसकिने अवस्था आउँदासमेत सरकारले बेवास्ता गरेको निर्माण व्यवसायीको गुनासो रहेको छ । निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि सुरुमै राखेको आफ्ना मागहरु सम्बोधन गराउनमा सरकारलाई दबाब दिने उद्देश्यले धर्नाका कार्यक्रमहरु सुरु गरिएको निर्माण व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष जसबहादुर लिम्बूले बताउनुभयो ।
अध्यक्ष लिम्बूका अनुसार पेट्रोलियम पदार्थसहित बिटुमिन, रड, सिमेन्टलगायत निर्माण सामग्रीको अधिक मूल्य वृद्धिका कारण योजनाहरुको निर्माण कार्य गर्न नसक्ने अवस्था आएको हो । यहाँका निर्माण व्यवसायीले बिहीबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए भने सरकारसमक्ष राखिएको मागबारे ध्यानाकर्षण गराउन प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
निर्माण व्यवसायीहरुले हालको जटिल परिस्थितिमा निर्माण आयोजनाहरु पूर्व निर्धारित समयमा सम्पन्न गर्ने सम्भावना नभएकाले बैंक ग्यारेन्टी, बीमा तथा क्षतिपूर्तिसहित सबै आयोजनाहरुको आवश्यक म्याद थप गर्नुपर्ने र बजेट व्यवस्थापन गर्न प्रदेश र संघीय सरकारसँग माग गरेका छन् । महंगीका कारण हाल जिल्लामा निर्माण योजनाहरु प्रभावित बनेका छन् ।