कोरोना संक्रमणबाट भारतीय रेल राज्यमन्त्री अंगडीको निधन
नयाँदिल्ली,असोज ८ । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ६५ वर्षीय अंगडीको भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स) मा उपचारका क्रममा बुधबार साँझ निधन भएको हो । मन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने अंगडी पहिलो केन्द्रीय मन्त्री हुन् । अंगडी भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट कर्नाटकको बेलागावी निर्वाचन क्षेत्रबाट सन् २००४ देखि लगातार चार पटक निर्वाचित हुँदै आएका थिए । पछिल्लो पटक सन् २०१९ को लोकसभा चुनाव जितेपछि उनलाई नरेन्द्र मोदी सरकारमा रेल राज्यमन्त्री बनाइएको थियो । यसअघि कर्नाटककै अर्का सांसद अशोक गस्तीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । गस्ती पनि भाजपाबाटै राज्यसभामा चुनिएका थिए । पछिल्ला वर्षहरुमा नेपाल र भारतबीच विभिन्न रेल परियोजनाहरुको निर्माणमा समझदारी बन्दै गएकाले मन्त्री अंगडीले दुई देशबीचको सम्बन्धमा पनि विशेष चासो राख्ने गरेका थिए । त्यसमाथि प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गमा त उनी प्रत्यक्ष रुपमा संलग्न नै थिए । भारतको संसदमा उक्त रेलमार्गसम्बन्धी भएका छलफल प्रायः जसो अंगडीले नै जवाफ दिने गरेका थिए । भारतले करिब २०० किमि लामो उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन (प्रि इन्जिनियरिङं एन्ड ट्राफिक सर्भे) टुंगो लगाएर नेपाल सरकारलाई बुझाइसकेको छ । यही अध्ययनका आधारमा विस्तृत परियोजना अध्ययन (डीपीआर) तयार पारिने बताइएको छ । र, भारतले परियोजनाको डीपीआरका लागि बजेट समेत छुट्याइएको छ । अंगडीले नेपाल र भारतबीचको धामिर्क एवं सांस्कृतिक सम्बन्धलाई पनि विशेष महत्व दिने गरेका थिए । विशेषगरी पशुपतिनाथका कारण नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको उनको बुझाई थियो । गत वर्ष असारको तेस्रो साता लोकसभाको एउटा छलफलमा क्रममा सांसदहरुले रक्सौल–काठमाडौं रेलमार्गको काममा भइरहेको ढिलाइका बारेमा असन्तुष्टि पोखेपछि मन्त्री अंगडीले दुई देशबीच पशुपतिनाथका कारणले पनि विशेष सम्बन्ध रहेको भन्दै परियोजना अगाडि बढाउन भारतले गम्भीर रुपमा पहल गरिरहेको धारणा राखेका थिए । त्यतिबेला उनले पशुपतिनाथ मन्दिरका मूल पुजारी कर्नाटककै रहने परम्पराको प्रसंगसमेत कोट्याएका थिए । आफै कर्नाटकबाट प्रतिनिधित्व गर्ने भएकाले पनि त्यो परम्परातप्रति उनले विशेष खुशी व्यक्त गरेका थिए । ‘पशुपतिनाथ मन्दिरका कारण कर्नाटक र काठमाडौंबीच विशेष सम्बन्ध छ । मन्दिरमा कर्नाटकका पुजारी हुन्छन् यो हाम्रा लागि अत्यन्तै खुशीको कुरा हो । त्यही भएर पनि नेपालसँगको सम्बन्ध प्रगाढ बनाउन हामी प्रयासरत छौं,’ मन्त्री अंगडीको भनाइ थियो । यसबीच रेल राज्यमन्त्री अंगडीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । त्यसैगरी पूर्व प्रधानमन्त्री एचडी दैवगौडाले पनि मन्त्री अंगाडीको निधनमा शोक व्यक्त गरेका छन् । उनको निधनको शोकमा भारतको गृह मन्त्रालयले बिहीबार दिल्लीका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।