महिना दिन अघिबाट हराएका एक युवा मृत भेटिए
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १६ । झण्डै एक महिना सातदिन अघि देखि सम्पर्कबिहिन तेह्रथुमको म्याङलुङ घर भई ताप्लेजुङमा निर्माणाधिन अपर तमोर जलविद्युत योजनामा कार्यरत एक व्यक्ति मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं १ गैरीगाउँ घर भई अपर तमोर जलविद्युत योजनामा कार्यरत ४० बर्षिय यमराज लिम्बू मृत भेटिएका हुन् । लिम्बूको शव चैत १५ गते फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमस्थित मेथेन खोलामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यमराज फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकस्थितमा रहेको निर्माणाधिन अपर तमोर जलविद्युत योजना २०८२ साल फागुन ८ गते घर जान्छु भनी हिंड्नु भएको थियो । लामो समयसम्म परिवार र कार्यरत जलविद्युत योजनाको सम्पर्कमा नपुगे पछि उहाँ वेपत्ता भएको भनी २०८२ साल चैत १ गते जिल्ला प्रहरी कार्यालयमा हुलिया सहितको खोजतलास निबेदन परेको थियो ।
निबेदन परेको समय देखि खोजतलास कार्य सुरु गरिएकोमा चैत १५ गते मेथेन खोलामा एक बेबारिसे शव फेला परेको जानकारी पछि प्रहरी निरीक्षकको नेतृत्वमा परिचालित टोलीले निबेदनमा प्राप्त हुलिया सहितका आधारमा उक्त शव यमराजको रहेको तथ्य पत्ता लगाएको प्रहरीले जनाएको छ ।