एसईईका लागि ताप्लेजुङमा तोकिए केन्द्राध्यक्ष,११ मध्ये दुईजना केन्द्राध्यक्ष महिला

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १६ । चैत १९ गते देखि हुने माध्यमिक शिक्षा परीक्षा(एसईई)का लागि ताप्लेजुङमा केन्द्राध्यक्ष चयन हुनु भएको छ ।

जिल्ला परीक्षा समन्वय तथा सहजीकरण समितिको बैठकले केन्द्राध्यक्षको टुङ्गो लगाएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार फुङलिङ नगरपालिकामा रहेका चार केन्द्र क्रमशःभानुजन माविमा किशोरकुमार राई,युवाबर्ष मावि कैंजलेमा चन्द्रमणि पौडेल,बासुसं माविमा शान्तिराम नेपाल र सिद्धकाली माविमा अमरकुमार राई केन्द्राध्यक्ष रहनु भएको छ । नेपाल सोहि बिद्यालयका बरिष्ठतम् शिक्षक हुनुहुन्छ भने अरु सबै केन्द्राध्यक्ष सोहि बिद्यालयका प्रधानाध्यापक रहनु भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका अनुसार सम्वन्धित बिद्यालयका प्रधानाध्यापक वा बरिष्ठतम् शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिन सकिने छ ।

सिरिजङ्गामा रहेका दुईवटा केन्द्र क्रमशःसिनाम माविमा तुलसीराम पोख्रेल र तेल्लोक माविमा रुकमान थेबे केन्द्राध्यक्ष तोकिनु भएको छ । पोख्रेल सिनाम माविका बरिष्ठतम् शिक्षक र थेबे तेल्लोक माविका प्रधानाध्यापक हुनुहुन्छ । आठराई त्रिबेणीमा रहेको एक केन्द्र सरस्वती मावि हाङपाङमा सोहि बिद्यालयका प्रधानाध्यापक चन्द्रकुमार तामाङ,फक्ताङलुङमा रहेको एक केन्द्रमा सिँवा मावि लिङखिमका प्रधानाध्यापक निर्मला तामाङ,मेरिङदेनमा रहेको एक केन्द्रमा त्रिभुवन मावि थुकिमाका कमल चेम्जोङ,सिदिङ्वामा रहेको एक केन्द्र भञ्ज्याङ मावि लिम्बूदिनमा सोहि बिद्यालयका प्रधानाध्यापक राजेन्द्र इदिङ्गो र पाथीभरा याङवरकमा रहेको केन्द्र थेचम्बु माविमा सोहि बिद्यालयका प्रधानाध्यापक पुष्पादेवी खरेल केन्द्राध्यक्ष चयन हुनु भएको छ ।

बासुसं मावि मेदिवुङ र सिनाम माविका प्रधानाध्यापक क्रमशःयुवराज बस्नेत र महेन्द्रप्रकाश गौतमले आफुहरु केन्द्राध्यक्ष नरहने र बिद्यालयका बरिष्ठतम् शिक्षकलाई जिम्मेवारी दिन आग्रह गरेअनुसार निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख भट्टराईले जानकारी दिनुभयो । अघिल्लो बर्ष १७ केन्द्र रहेको ताप्लेजुङमा यसबर्ष छवटा केन्द्र कटौति भई ११ केन्द्र कायम भएको छ । यसबर्ष मिक्वाखोला र मैवाखोला गाउँपालिकामा एसईईका लागि केन्द्र छैनन् ।

साविकमा कायम रहेकामध्ये फुङलिङको जनता मावि हाङदेवा,मैवाखोलाको मैवाखोला मावि ढुङगेसाँघु,मिक्वाखोलाको मोति मावि खोक्लिङ,आठराई त्रिबेणीको दुर्गा मावि फुलवारी, फक्ताङलुङको सरस्वती मावि तापेथोक र सिरिजङ्गाको गणेश मावि खेवाङ परीक्षा केन्द्र यसबर्ष कटौतीमा परेका छन् । कम्तिमा १ सय ५० परीक्षार्थी नभएको क्षेत्रमा केन्द्र कायम गर्न नसकिने प्रावधान अनुसार छवटा केन्द्र कटौतिमा परेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

यसवर्ष ताप्लेजुङमा साधारण धारतर्फ नियमितमा १ हजार ३ सय ४० तथा ग्रेडबृद्धिका ५ सय ४७ तथा प्राविधिक धारतर्फ नियमितका १ सय ३ र ग्रेडबृद्धिका १९ गरी कुल २ हजार ९ जनाले परीक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यसबर्ष आठराई त्रिबेणीको सरस्वती मावि हाङपाङ परीक्षा केन्द्रमा मात्र दुईजना सहायक केन्द्राध्यक्ष हुनेछन् । परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष,एक सहायक केन्द्राध्यक्ष र प्रति बीसजना बिद्यार्थी बराबर एक जनाका दरले निरीक्षक परिचालित हुनुहुने छ ।

Similar Posts