मंगलवारबाट मैवाखोलाको साँघुमा हुने क्लव स्तरीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १५ । चैत १७ गते देखि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा सुरु हुने क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक जलजले क्लव साँघुका खेल संयोजक डिकेन्द्र माङदेनका अनुसार उद्घाटन खेलमा ताप्लेजुङका दुई टीम जलजले क्लव निलो र ग्रीन भ्याली युनाइटेड क्लव भिड्ने भएका छन् । १८ गते हुने दोस्रो खेलमा ताप्लेजुङ जलजले क्लव सेतोका बिरुद्ध तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लव मैदानमा उत्रने छ । १९ गते हुने तेस्रो खेलमा धनकुटाको साँगुरीगढी फुटबल क्लवको भीडन्त ताप्लेजुङको सृजनशील सामाजिक समाजसंग हुने आयोजकले जनाएको छ । चैत १९ गते नै सयपत्री साँस्कृतिक युवा क्लव संखुवासभाले ताप्लेजुङको लालिमा क्लवसंग पहिलो चरणको अन्तिम खेल खेल्ने छ ।
चैत २० गते पहिलो र दोस्रो सेमीफाइनल तथा चैत २१ गते फाइनल खेल हुने आयोजक जलजले क्लवका सचिव चिरञ्जिवी चोङवाङले जानकारी दिनुभयो । खेल तथा टिम व्यवस्थापन संयोजक मनोज लिम्बूका अनुसार फुटबल संगै पुरुष ब्याडमिन्टनतर्फ एकल र युगल(सिङ्गल र डबल)प्रतियोगिता समेत हुने छ । क्लवका अध्यक्ष रुपनारायण घिमिरेका अनुसार महाशिवरात्री पर्वको अवसरमा सञ्चालन हुनेगरी तय भएको फुटबल प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको थियो । उक्त प्रतियोगिता चैत १७ गते नारायणी मावि साँघुको खेल मैदानमा सञ्चालन हुने घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख ६१ हजार १११ रुपैयाँ र द्धितीय हुनेले १ लाख ३१ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक जलजले क्लव साँघुले जनाएको छ ।