शपथ लगत्तै सांसद थेबेको घोषणा : आफ्नो पहिलो महिनाको पारिश्रमिक आगेपा आविलाई
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १२ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले संघीय संसद सदस्यको रुपमा आफुले प्राप्त गर्ने पहिलो महिनाको पारिश्रमिक सिदिङ्वा गाउँपालिकाको एक बिद्यालयको भवन निर्माण तथा जग्गा खरिदका लागि सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
प्रतिनिधिसभा सदस्यको रुपमा बिहीबार शपथग्रहण गरे लगत्तै सांसद थेबेले आफ्नो पहिलो महिनाको पारिश्रमिक सिदिङ्वा गाउँपालिकाको आङ्खोपस्थित आगेपा आधारभूत बिद्यालयको जग्गा खरिद तथा भवन निर्माणमा सहयोग गर्ने घोषणा गर्नु भएको छ । उहाँ प्रतिनिधिसभामा निर्वाचित भएको केहि समय पछि हावाहुरीका कारण क्षतिग्रस्त भएका सिदिङ्वा गाउँपालिकाका सार्वजनिक तथा निजी संरचनाको अनुगमन तथा सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकाका मतदातालाई धन्यवाद दिन गाउँ पुग्नु भएको थियो ।
निर्वाचनको क्रममा समेत आफुले आगेपा आधारभूत बिद्यालयको अवस्था बारे बुझेको र निर्वाचित भइसके पछि स्थलगत अध्ययनमा गएर बुझेको बताउनु भएका थेबेले उक्त बिद्यालयका बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वासका साथ आगेपा आविलाई पहिलो महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गर्नुभयो । फागुन २१ गतेको निर्वाचनमा एमाले उम्मेदवार थेबे १३ हजार ९६२ मत सहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो । उहाँले नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २५१ मतले पराजित गर्नुभयो । निर्वाचनमा यहाँ १३ राजनीतिक दलका १३ जना प्रतिश्पर्धी चुनावी मैदानमा थिए । तुम्याहाङ समेत सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकाका विपद् पीडित परिवारको सहानुभूति र सहयोगका लागि स्थगलत रुपमै पुग्नु भएको थियो ।