सिरिजङ्गामा चैत १३ बाट ४ दिन गोलिया ढुवानी बन्द
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १२ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले चैत १३ गते चारदिन पालिका क्षेत्रका मुख्य सडकबाट गोलिया ढुवानी बन्द गर्ने भएको छ ।
पालिका अध्यक्ष लालकृष्ण चौहान र उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले बिहीबार संयुक्त सार्वजनिक सूचना आवह्वान गर्दै चैत १३ देखि १६ गतेसम्म पालिका क्षेत्रका मुख्य सडकमा ट्रयाक्टर वा ट्रकमार्फत गोलियाको ढुवानी बन्द गरिएको जनाउनु भएको छ । अध्यक्ष चौहान र उपाध्यक्ष मावोद्धारा जारी सूचना अनुसार चैत महिनामै बर्षा हुन थालेको र गोलिया निकासी तथा ढुवानीले गर्दा सडक बिग्रने,भत्कने र खाल्डो पर्ने पाईएकोले खाद्यान्न र यात्रुबाहक सवारी साधनका धनी तथा यात्रुले गरेको गुनासोका आधारमा तत्कालका लागि चारदिन गोलिया ढुवानी तथा निकासी बन्द गरिएको हो ।
पालिकाले मामाङ्खे–याङपाङ–तेल्लोक–आम्बेगुदिन–खाम्दिने सडक खण्डमार्फत चार दिनका लागि गोलिया ढुवानी बन्द गर्ने बताएको छ । पालिकाले जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा निकायसंग आवश्यक समन्वय तथा निर्देशन गरिदिन तथा सशस्त्र प्रहरीको सिनाम वेस क्याम्प र पालिकाका ८ वटै वडाका अध्यक्षलाई निर्णय कार्यान्वयनमा सहयोग गरिदिन बोधार्थ दिएको छ भने डिभिजन वन कार्यालय ताप्लेजुङलाई निर्णयको जानकारी गराएको जनाएको छ ।