खोक्लिङमा चैत १३ बाट वडा स्तरीय फुटबल हुँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ९ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङमा चैत १३ गतेदेखि अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

सृजनशील समाजिक युवा समाजको आयोजनामा हुने प्रतियोगिता नयाँ संरचना अनुसारको अन्तर वडा स्तरीय हुने क्लवका अध्यक्ष रामकुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेले १ लाख ७० हजार १ रुपैयाँ तथा दोस्रो हुनेले ८५ हजार १ रुपैयाँका साथ तीनबर्षे रनिङ कप,मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत पुरस्कारको समेत प्रवन्ध गरिएको छ । उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट फरवार्ड र उदयीमान खेलाडीले जनही नगद १ हजार ५ सय रुपैयाँका साथ प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक मुकेश लिम्बूले जानकारी दिनुभयो ।

मोति माविको खेल मैदानमा हुने प्रतियोगितामा ४ अतिरिक्त सहित १३ जना हुनुपर्ने आयोजक संस्थाले जनाएको छ । चैत १३ गते सुरु भई १७ गते समापन हुने प्रतियोगिता २८ औं राम नवमी फुटबल प्रतियोगिताको रुपमा सञ्चालन गर्न लागिएको समाजका सल्लाहकार तथा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष ऐश्वर्यराज थापाले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन चाहने वडाले चैत ११ गते अपरान्ह ४ बजेसम्ममा नाम दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क नलाग्ने समेत आयोजक संस्थाले जनाएको छ । खेल तालिका भने चैत १२ गते साँझ ५ बजे प्रकाशन गरिने भएको छ ।

Similar Posts