इनिसा विक हत्या प्रकरण : संयुक्त राजनीतिक दलित संघर्ष समिति ताप्लेजुङले बुझायो ज्ञापनपत्र
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३ । बलत्कार पछि हत्या भएकी युवती इनिसा विकको हत्या र बलत्कारमा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारवाहीको माग गर्दै मंगलवार संयुक्त राजनीतिक दलित संघर्ष समिति ताप्लेजुङले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत नेपाल सरकार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाईएको संयुक्त राजनीतिक दलित संघर्ष समिति ताप्लेजुङका अध्यक्ष नेत्र नेपालीले जानकारी दिनुभयो । नेपालीले निमित्त प्रमुख जिल्ला अधिकारी यादव भट्टराईमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउनु भएको छ । ज्ञापनपत्र बुझ्दै निमित्त प्रजिअ भट्टराईले ज्ञापनपत्र छिटो माध्यमद्धारा नेपाल सरकार,गृह मन्त्रालयमा जाहेर गर्ने जानकारी दिनुभयो । यसअघि संयुक्त राजनीतिक दलित संघर्ष समितिले फुङलिङमा मौन प्रर्दशन गरेको छ ।
मौन प्रर्दशन पछि जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाईएको दलित अगुवा तथा फुङलिङ नगर कार्यपालिका सदस्य गंगाराम शंकरले जानकारी दिनुभयो । ज्ञापन पत्रमा उक्त घटनामा संलग्न थप दोषीको खोजी गरी कानुनी दाहेरामा ल्याउनुपर्ने,अनुसन्धान कमजोर पार्न भइरहेको राजनीतिक तथा प्रशासनिक दबाब अन्त्य गरी घटनाको निश्पक्ष छानबिन र दोषी उपर हदैसम्मको कारवाहीको माग गरिएको छ । यसअघि सोमवार फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले प्रर्दशन र कोणसभा गर्दै इनिसाको बलत्कार र हत्या प्रकरणको शीघ्र छानबिन तथा दोषीलाई हदैसम्मको कानुनी कारवाहीका लागि सरकारको ध्यानाकर्षण गरेका थिए ।