४ स्थानका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिने,निर्वाचनमा खटिएका कर्मचारीको मत समानुपातिकतर्फमात्र
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ११ । ताप्लेजुङको हिमाली बस्ति ओलाङचुङगोला,याङ्मा,ग्याब्ला र घुन्साका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी हुनेगरी जिल्ला निर्वाचन समन्वय समितिले आवश्यक तयारी गरेको जनाएको छ ।
फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सोमवार आयोजना गरेको सरोकारवालाको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले ४ स्थानका मतपेटिका हेलिकोप्टरबाढ ढुवानी गर्नुपर्ने अवस्था सरकार,निर्वाचन आयोग सहितका माथिल्लो निकायमा पेश भएको जानकारी दिनुभयो । प्रधानमन्त्री सुशिला कार्कीको ताप्लेजुङ भ्रमणका बेला समेत जिल्ला सुरक्षा समितिले उल्लेखित ४ स्थानको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था बताएको थियो । निर्वाचनमा खटिएका कर्मचारी,सुरक्षाकर्मी र निर्वाचन प्रहरी सहितले प्रतिनिधिसभाको निर्वाचनमार्फत समानुपातिकतर्फमा मात्र मतदान गर्न पाउने व्यवस्था रहेको समेत प्रजिअ सेढाइँले बताउनुभयो ।
निर्वाचनमा खटिएका कर्मचारीलाई मतदान गर्न पाउने स्थल भन्दा बाहिर खटाउनुपर्ने प्रावधान रहेको बताउँदै प्रजिअ सेढाइँले खटाईएका कर्मचारीको विवरणमा केहि तलमाथि भए संशोधन गरिने बताउनुभयो ।‘निर्वाचनमा खटिएका कर्मचारीले प्रत्यक्षतर्फ मतदान गर्न पाउने व्यवस्था छैन’सेढाइँले भन्नुभयो । अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले जिल्ला निर्वाचन कार्यालयमार्फत भइरहेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । आचार संहिता अनुगमन अधिकृतद्धय यादव भट्टराई र यमनाथ गिरीले आचार संहिताको उल्लंघन र पालनाको अवस्था बारे बताउनु भएको थियो ।
जिल्ला निर्वाचन कार्यालयमा अनुसार ताप्लेजुङमा १ हजार ६ सय ८३ जना अस्थायी मतदाता रहेका छन् । अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् । अस्थायी मतदातामध्ये १ हजार २ सय १९ पुरुष र ४ सय ६४ महिला मतदाता रहेका छन् । अस्थायी मतदाताका लागि २ वटा मतदान केन्द्र निर्धारण गरिएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी श्रेष्ठका अनुसार किराँतेश्वर मन्दिर परिसर फुङलिङ नगरपालिका वडा नं ४ र जिल्ला कारागार कार्यालय गरी अस्थायी मतदाताका लागि २ वटा मतदान स्थल निर्धारण गरिएको छ ।