प्रदेश र जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २३ । पुस १ गतेदेखि ताप्लेजुङको दोभान बजारमा लाग्ने पुसे मेलाको अवसरमा प्रदेश तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।

कोशी प्रदेश स्तरीय ‘बि’लेभल तथा ताप्लेजुङ जिल्ला स्तरीय ‘सि’लेभलको ब्याडमिन्टन प्रतियोगिता हुने खेल संयोजक विकास तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेश स्तरीय ‘बि’लेभलको प्रतियोगितामा प्रथम हुनेले नगद ५२ हजार,द्धितीय हुनेले ३० हजार र तृतीय तथा चर्तुथ हुनेले समान ७–७ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

जिल्ला स्तरीय ‘सि’लेभलको ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार र द्धितीय हुनेले १२ हजार रुपैयाँ प्राप्त गर्ने खेल सहसंयोजक युवराज बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘बि’लेभलका लागि २ हजार ५ सय र ‘सि’लेभलका लागि १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

पुसे मेला सञ्चालन समिति तथा दोभान स्पोर्टिङ क्लवको आयोजनामा आमन्त्रित भलिबल प्रतियोगिता,साँस्कृतिक कार्यक्रम,विविधि खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ आउँदो पुस १ देखि ५ सम्म दोभान बजारमा पुसे मेला सञ्चालन हुँदै छ । यसबर्ष मेला लागेको ५२ बर्ष हो ।

Similar Posts