हवाइ उडान तथा यातायात सुरु हुने भएपछि ताप्लेजुङमा थालियो सावधानीको पूर्व तयारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३० । कोरोना संक्रमणको प्रभावले अहिले सम्म सुरक्षित रहेको ताप्लेजुङमा सरकारले असोज ५ गतेबाट सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेसंगै त्यसपछिका दिनमा गरिने संक्रमण जोखिम व्यवस्थापनको पूर्व तयारी थालिएको छ । मंगलवार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायात तथा आन्तरिक हवाई उडान सुरु भएसंगै कोरोना संक्रमण भित्रन सक्ने भएकोले त्यसबिरुद्ध प्रतिकार्य योजनाको खाँका तयार पार्ने निर्णय लिएको हो । प्रारम्भिक चरणमा थप स्वास्थ्य जनशक्ति व्यवस्थापनको कार्ययोजना बनाइने छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले ताप्लेजुङ जिल्ला अस्पताल र ९ वटै पालिकाका स्वास्थ्य संयोजक संगको समन्वयमा कम्तिमा थप १८ जनाको स्वास्थ्य जनशक्ति तयारी हालतमा राख्ने निर्णय भएको बताउनुभयो । यसको संयोजन गर्ने जिम्मेवारी स्वास्थ्य कार्यालल ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलाई दिईएको छ । पोखरेलले ९ वटै पालिकामा स्थानीय स्वास्थ्य सेवा प्रभावमा कुनै असर नपर्ने गरी प्रत्येक पालिकाबाट पारामेडिक र नर्सिङ क्षेत्रका १–१ जना गरी २ जना स्वास्थ्य जनशक्ति तयारी हालमा राख्ने प्रकृयाको संयोजन गर्नु हुने छ ।‘ठूलो रुपले संक्रमण जोखिम परेको खण्डमा त्यसबिरुद्ध प्रयोग हुने गरी यो टिम तयारी हालतमा राखिने छ’कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले भन्नुभयो । यस बाहेक स्वयंसेवी रुपमा काम गर्न इच्छुक स्वास्थ्यकर्मी तथा ओजेटी लिईरहेका जनशक्तिले समेत यस कार्यमा योगदान दिन सक्ने भएका छन् । यस्तो अवस्थामा इच्छुकहरुले काम गर्ने इच्छा शक्ति सहितको बिवरण ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामासंग वा उहाँको मोवाइल नम्बर ९८५२६६०१८८ मा सम्पर्क गर्नुपर्ने हुन्छ । स्वयंसेवी सहितको थप कार्यरत जनशक्तिको खाना,आवास र थोरै मात्रामा प्रोत्साहन रकमको व्यवस्थापन समेतको प्रकृयाका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले कार्य योजना बनाउने भएको छ । अब कोरोना संक्रमित फेला परे १० जना सम्मलाई जिल्ला अस्पतालको आइसोलेनमा राखिने छ । तर,अहिले ताप्लेजुङमा अहिले कोरोना संक्रमित छैनन् । यसअघि ८ जनामा कोरोना संक्रमण देखा परेपनि ति सबै संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । यस अर्थमा ताप्लेजुङ शुन्य संक्रमित जिल्ला हो । संक्रमणको लक्षण देखिएका वा संक्रमणका कारण थप समस्यामा रहेका बिरामीलाई मात्र जिल्ला बाहिरको कोरोना संक्रमण उपचार केन्द्रमा पठाइने छ । १० जना भन्दा बढी संक्रमण भएको अवस्थामा भने फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टाइन केन्द्र सहित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले प्राथमिकता तोकेर निर्धारण गरेका केन्द्रहरुमा राखिने छ । संक्रमणको कुनै लक्षण नदेखिएकाहरुका लागि १४ दिन अनिवार्य होम आइसोलेसनमा बस्नुपर्ने र होम आइसोलेसनमा बसेकाहरुको नियमित अनुगमनका लागि सबै स्थानीय तहहरुसंगको समन्वयमा सुक्ष्म अनुगमन गर्ने योजना बारे पनि छलफल सुरु भएको छ । सो अवधिमा संक्रमणसंग मिल्लोजुल्दो लक्षण देखा परे पीसीआर परीक्षण गरी निजलाई आइसोलेसनमा राखिने र यस्तो अवस्था नभए थप सर्तकताका साथ बस्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नेगरी योजनाका बारेमा छलफल सुरु भएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । यसबाहेक सवारी र यात्रुले व्यक्तिगत सुरक्षाका न्यूनतम् मापदण्ड पालना गरे÷नगरेको समेतको प्रभावकारी अनुगमन गर्ने,चाडवाडका बेला हुने अनावश्यक भिडभाड नियन्त्रण गर्ने लगायतका बिषयमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले सरोकारवालालाई आ–आफ्नो कार्ययोजना तयार पार्न अनुरोध समेत गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts