पाथीभरा क्षेत्रमा बृहत्त सफाई कार्यक्रम सुरु,पूजापाठ पनि हुँदै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ८ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा वृहत्त सरसफाई कार्यक्रम सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिकाको आयोजना पाथीभरा क्षेत्रको काफ्लेपाटीबाट सरसफाई अभियान सुरु भएको हो ।
सरसफाई अभियानमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित नागरिक समाजका अगुवा समेत सहभागी रहेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार पाथीभरा मन्दिर क्षेत्रबाट काफ्लेपाटीतर्फ र काफ्लेपाटीबाट माथिल्लो फेदीतर्फको भागमा सफाई हुने छ । सफाईसंगै विश्व शान्तिको कामनाका साथ पाथीभरा मन्दिर क्षेत्रमा सामूहिक पूजापाठ कार्यक्रमको आयोजना गरिएको समेत क्षेत्र विकास समितिले जनाएको छ । यही अवसर पारेर पाथीभरा क्षेत्रको बलुडाँडामा निर्माण गरिएको दर्शनार्थी सहायाता केन्द्रको उद्घाटन समेत गरिएको छ ।
सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले पाथीभरा क्षेत्र विकास समितिसंग मिलेर निर्माण गरेको उक्त सहायता केन्द्रको फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाँई,पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष थेबे,कार्यकारी निर्देशक हाङवाङ,दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति प्रमोदप्रकाश पाठक सहितको उपस्थितिमा शुभारम्भ गरिएको छ । दर्शनार्थी सहायता केन्द्रमार्फत दर्शनार्थीको प्रारम्भिक स्वास्थ्य परीक्षण सहितका कार्य हुने सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले जनाएको छ ।
शनिवारको वृहत्त सफाई कार्यक्रममा पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारी,जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,जिल्ला रेडक्रस सहितका संघसंस्थाका प्रतिनिधिहरु,सञ्चारकर्मीहरु तथा नागरिक समाजका अगुवा सहितको सहभागिता रहेको छ । सफाई कार्यक्रमबाट संकलित फोहोर फुङलिङ नगरपालिकाको फोहोर संकलन गर्ने गाडीले संकलन गरी नगरपालिकाको डम्पिङ साईटमा लगि व्यवस्थापन गर्ने तयारी गरिएको छ ।