सिरिजङ्गा गोल्डकपको पाँचौ संस्करण मंसिर २३ बाट,सिरिजङ्गा मेलाले पनि निरन्तरता पाउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङको तेल्लोकमा सिरिजङ्गा गोल्डकपको पाँचौ संस्करण आउँदो मंसिर २३ देखि २९ गतेसम्म हुने भएको छ । चौथो संस्करण पनि अघिल्लो बर्ष मंसिर २३ देखि २९ सम्म नै भएको थियो ।
आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार यसबर्ष ‘सिरिजङ्गा मेला’ले पनि निरन्तरता पाउने छ । अघिल्लो बर्ष सिरिजङ्गा गोल्डकपको चौथो संस्करण संगै सिरिजङ्गा मेला पनि भएको थियो । साविक झैं यसबर्ष पनि सिरिजङ्गा गोल्डकपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहित ८ वटा टिमको सहभागिता रहने सम्भावना रहेको छ । तर आयोजक तेल्लोक स्पोर्टिङ क्लबले सिरिजङ्गा गोल्डकपको पाँचौ संस्करणमा रहने टिम कति रहने भन्ने बताइसकेको छैन । क्लबका अध्यक्ष भट्टराईले केहिदिन पछि पत्रकार सम्मेलनमार्फत सिरिजङ्गा गोल्डकपको पाँचौ संस्करण तथा सिरिजङ्गा मेलाका बारेमा विस्तृत जानकारी दिने तयारी भईरहेको बताउनुभयो ।
अघिल्लो बर्ष प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च हुने अनुमान आयोजकले गरेकोमा मितव्ययी ढंगबाट कार्यक्रम सम्पन्न गर्दै आयोजकले केहि रकम बचत पनि गरेको थियो । किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसर पारेर ‘सिरिजङ्गा मेला’सहित सिरिजङ्गा गोल्डकप हुँदै आएको छ । सिरिजङ्गासिंह थेबेलाई जातीय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् प्रकाण्ड विद्धान मानिन्छ । सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ । मंसिर २९ गते सिरिजङ्गासिंह थेबेको जन्म जयन्ती हो ।