हाईड्रोका हेभी गाडीले सडक बिगारेको भन्दै बिगारेको सडक बनाउन पिस इनर्जीलाई सिरिजङ्गाको पत्र

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ४ । जलविद्युत कम्पनीका हेभी सवारी कुदेका कारण सडकमार्ग अनपेक्षित रुपले बिग्रिएको भन्दै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले बिग्रिएको सडकखण्ड बनाईदिन पिस इनर्जी कम्पनीलाई पत्राचार गरेको छ ।
पिस इनर्जीमार्फत २८.१ मेगावाट क्षमताको माथिल्लो काबेली जलविद्युत आयोजना निर्माणाधिन रहेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले पिस इनर्जीलाई पत्र लेख्दै यदि समयमै उक्त सडक मर्मत सम्भार नगरे मर्मत सम्भार गर्दा लाग्ने खर्च त्यस कम्पनीबाट असुर उपर गरिने चेतावनी समेत दिनु भएको छ । सिरिजङ्गा गाउँपालिकाले पालिकाको वडा नं १ सिनाम र वडा नं २ आम्बेगुदिन खण्डको मुख्य सडक पिस इनर्जीका हेभी सवारी साधन चलेका कारणले बिग्रिएर मर्मत सम्भार अनिवार्य गर्नुपर्ने अवस्थामा पुगेको दावी सहित उक्त कम्पनीलाई तत्काल उक्त खण्डको सडक मर्मत सम्भार गर्न पत्र लेखेको छ ।
चाड पर्व समेत नजिकिई सकेकोले उक्त सडक खण्डमा ढुङ्गा,माटो,बालुुवा लगायतका सामग्रीको प्रयोग गरेर मर्मत सम्भार गरी तत्काल यातायात आवागमन सहज बनाइदिन पालिकाले पिस इनर्जीलाई आग्रह गरेको छ । पालिकाले उक्त सडक खण्ड र आसपास कार्यक्षेत्र पर्ने हरन्दी टोल विकास संस्था र आम्बेगुदिन टोल विकास संस्थालाई सडक मर्मत सम्भार कार्यमा आवश्यक समन्वय,सहजीकरण र प्रभावकारी अनुगमनका लागि तथा इलाका प्रहरी कार्यालय तेल्लोकलाई आवश्यक समन्वयका लागि समेत पत्र लेखेको छ ।
माथिल्लो काबेली जलविद्युत आयोजनाको तेल्लोकमा इन्टेक र सिनाममा पावर हाउस हुनेछ । सिरिजङ्गा गाउँपालिका वडा नं–१ सिनाम,२ आम्बेगुदिन र ४ तेल्लोक तथा यस्तै सिदिङ्वा गाउँपालिकाको वडा नं ६ मेहेले र ५ लिम्बूदिन माथिल्लो काबेली जलविद्युत आयोजनाको मुख्य प्रभाव क्षेत्र हो ।