|

स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खुले

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २९ । जेनजी पुस्ताको आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि बन्द गरिएका ताप्लेजुङका स्थानीय तहले सेवा सुचारु गरेका छन् भने विद्यालयहरु पनि खुलेका छन् । जिल्लाका केही स्थानीय तहले बन्द गरेको सेवा प्रवाह आइतबारदेखि सुरु गरेका हुन् । यस्तै बन्द भएका विद्यालयहरु पनि आइतबारदेखि नै खुलेका हुन् ।
गएको मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको आठराई त्रिबेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकाले आइतबारदेखि सबैखाले सेवा प्रवाह गर्न सुरु गरेको छन । आठराई त्रिबेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले एक सूचना प्रकाशित गरी गाउँपालिका कार्यालय र मातहतका अन्य सबै कार्यालयका सेवा नियमित भएको उल्लेख गर्नुभएको छ ।
यस्तै गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयको पठनपाठन पनि आइतबारदेखि सुरु भएको प्रधानद्वारा जारी सूचनामा जनाइएको छ । त्यस्तै मेरिङ्देन गाउँपालिकाले बन्द गरेको सेवा प्रवाह आइतबारदेखि नै सुरु गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवले सूचना प्रकाशित गरी गाउँपालिका कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा सुरु गरेको उल्लेख गर्नुभएको छ । गाउँपालिकाले गएको मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो ।
यसैगरी सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु पनि आइतबारदेखि खुलेका छन् । यता फुङ्लिङ नगरपालिका कार्यालयको सेवा भने अवरुद्ध नै रहेको छ । जेनजी समूहको नाममा मंगलबार राति नगरपालिकाको प्रशासकीय भवनमा तोडफोड र आगजनी गरिएपछि सेवा प्रवाह ठप्प भएको छ । नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले तोडफोड र आगजनीका कारण प्रशासकीय भनव तहसनहस भएकाले तत्काल सेवा प्रवाह गर्ने स्थिति नरहेको बताउनुभयो ।
नगरपालिकाको सेवा प्रवाहलाई नियमित गर्ने विकल्पबारे आपसी परामर्श भइरहेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता एवम् वडा २ का वडाध्यक्ष न्यौपानेका अनुसार नगरपालिकाका ११ वटा वडा कार्यालयको सेवा प्रवाह भने नियमित रहेको छ ।
यसैगरी देशको विषम परिस्थितिका कारण जिल्ला प्रशासन कार्यालयले गएको बुधबारदेखि लगाएको निषेधाज्ञा र कफ्र्यु पनि शनिबारदेखि हटाएको छ छ । दिउँसो निषेधाज्ञा र राति लगाइँदै आएको कर्फ्यु हटाएपछि जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ । निषेधाज्ञा र कर्फ्यु हटाइएपछि सदरमकाम फुङ्लिङ बजारमा चहलपहल पनि सुरु भएको छ ।

Similar Posts