रिडको कार्यक्षेत्र बिस्तार,थपिए फक्तालुङका तीनवटा वडा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ८ । ताप्लेजुङको दुर्गम र हिमाली क्षेत्रको शिक्षा विकास तथा उन्नयनमा काम गर्दै आएको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालको कार्यक्षेत्र बिस्तार भएको छ ।
रिड नेपालको कार्य क्षेत्रमा अब फक्ताङलुङ गाउँपालिकाका ३ वटा वडा क्रमशःवडा नं १ सावादिन,वडा नं २ खेजेनिम र वडा नं ३ लिङखिम थप भएका छन् । यो संगै अब रिड नेपालको कार्यक्षेत्र फक्ताङलुङ गाउँपालिकाका ७ वटै वडा र सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिन,वडा नं ७ खेवाङ र वडा नं ६ मामाङ्खे गरी १० वटा वडा कायम भएको रिड नेपाल ताप्लेजुङका कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
यसअघि फक्ताङलुङ गाउँपालिकाका वडा नं १,२ र ३ बाहेक ४ वटा वडा र सिरिजङ्गा गाउँपालिकाका ३ वटा वडा गरी ७ वडा वडामात्र रिड नेपालको कार्यक्षेत्र थिए । पन्तका अनुसार यसअघि ७ वटा वडाका ३५ बिद्यालय कार्यक्षेत्र रहेकोमा अब बिद्यालय संख्या बढेर ५४ पुगेकोे छ ।
रिड नेपाले तीनवटा वडा कार्यक्षेत्र थप्दा रिडको कार्यक्षेत्रका बिद्यालयमा अध्ययनरत बिद्यार्थीले पाउने उच्च शिक्षा छात्रबृत्ति कोटामा समेत उल्लेख्य बृद्धि भएको छ । अब प्रत्येक बर्ष रिड नेपालले १२ जनालाई उच्च शिक्षा छात्रबृत्ति प्रदान गर्ने छ । यसअघि उच्च शिक्षा छात्रबृत्ति पाइरहेका ७ जना बिद्यार्थीले आगामी शैक्षिक सत्रमा समेत छात्रबृत्ति निरन्तर पाउने भएकोले आगामी शैक्षिक सत्रमा भने नयाँ १२ सहित कुल १९ जनाले उच्च शिक्षा छात्रबृत्ति पाउने छन् ।
पन्तका अनुसार कार्यक्षेत्र बिस्तार भएका सहित रिडको कार्यक्षेत्रमा अब माध्यमिक बिद्यालयको संख्या १२ पुगेको छ । आगामी शैक्षिक सत्रदेखि प्रत्येक माविबाट कम्तिमा एकजनाले उच्च शिक्षा छात्रबृत्ति पाउने र चालु शैक्षिक सत्रमा छात्रबृत्ति पाएकाहरुको समेत पढाई पूरा हुँदासम्मको अवधिमा छात्रबृत्तिको निरन्तरता हुने भएको छ ।
२०७० सालबाट रिड नेपालले हरेक बर्ष उच्च शिक्षा छात्रबृत्ति दिदैं आएको छ । अहिलेसम्म ९४ जनाले उच्च शिक्षा छात्रबृत्ति पाएको र छात्रबृत्तिका लागि करिव ८५ लाख बढी खर्च भईसकेको समेत रिड जनाएको छ । २०७७,२०७८ र २०७९ मा भने कोरोना संक्रमणका कारण रिडले छात्रबृत्ति दिएको थिएन । रिड ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रको शिक्षा क्षेत्रमा २०६४ साल देखि कार्यरत निकाय हो । हिमालयन् ट्रष्ट युकेले रिड नेपाललाई आर्थिक सहयोग गरेको छ ।