युनाईटेड मेवालाई ३.३७ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २१ । सरकारले ताप्लेजुङस्थित युनाईटेड मेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडलाई राष्ट्रिय प्रसारण लाइन निर्माणका लागि ३.३७ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिएको छ ।

सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले युनाईटेड मेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडलाइ १ सय ३२ केभिए राष्ट्रिय प्रसारण लाइन निर्माण प्रयोजनका लागि मेरिङदेन गाउँपालिका वडा नं ३ स्थित ३.३७ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिएको बताउनुभयो । ताप्लेजुङमा साढे चार वर्ष अघिदेखि निर्माण गर्न सुरु भएको युनाइटेड मेवाखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सिमाना भई बग्ने मेवाखोलाबाट युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले उत्पादन गर्न लागेको ५० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो । युनाइटेड मेवाखोला जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत आसलाल केदेम (आशिष) ले निर्माणको काम करिव ९९ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो ।

 

Similar Posts