भारत–चीन सीमामा चल्यो गोली

अरुलाई पनि शेयर गरौ !

नयाँदिल्ली,भदौ २४ । रक्षामन्त्रीस्तरीय बैठकमा सीमा विवाद थप बल्झिन नदिने र संवादलाई निरन्तरता दिने सहमति गरेको दुई दिन नबित्दै भारत र चीन सीमा क्षेत्रमा फेरि तनाव चर्किएको छ । सोमबार राति पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित सीमा क्षेत्रमा भएको फायरिङका कारण फेरि तनावपूर्ण स्थिति उत्पन्न भएको हो  । उक्त घटनालाई लिएर दुवै देशबीच आरोप–प्रत्यारोप पनि सुरु भएको छ । दुवै देशले आफ्नोतर्फबाट गोली नचलाएको दाबी गरेका छन्  । चीनले सोमबार मध्यरात विज्ञप्ति जारी गर्दै भारतमाथि परिस्थिति भड्काएर द्विदेशीय सीमाको उत्तरी खण्डमा पर्ने बांगङ हुनानमा लाइन एफ एक्चुअल कन्ट्रोल (एलएसी) पार गरेको आरोप लगाएको छ । ‘भारतीय सेनाले एक्कासि गोली चलाएपछि त्यहाँ तैनाथ चिनियाँ सीमारक्षकहरूले स्थिति नियन्त्रणमा लिन उचित कदम चाल्न बाध्य भए  । भारतीय पक्षबाट भएको उक्त कदम दुवै देशबीच भएका समझदारीहरूको गम्भीर उल्लंघन हो  । यस्ता घटनाले क्षेत्रीय तनाव, असमझदारी र अविश्वास थप बढाउने काम गरेको छ,’ चिनियाँ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  । चीनको उक्त आरोपलाई भारतले भने ठाडै अस्वीकार गरेको छ । मंगलबार बिहान भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै भारत एलएसीको तनाव कम गर्न प्रतिबद्ध रहेको जनाएको छ  । चीनले सीमा क्षेत्रमा तनाव बढाउने गरी उत्तेजक गतिविधि गरेको भारतको आरोप छ । ‘भारतीय सेनाबाट एलएसी पार गरेर गोली चलाउनेजस्तो परिस्थिति भड्काउने काम कुनै पनि अवस्थामा हुन सक्दैन । बरु सैन्य, कूटनीतिक र राजनीतिक तहमा तनाव कम गर्न पहल भइरहेका बेला पीएलएका तर्फबाट समझदारीहरूको ठाडो उल्लंघन गर्ने काम भएको छ । पीएलएका तर्फबाट भयभीत पार्नका लागि केही राउन्ड गोली हावामा चलाइएको थियो,’ भारतीय सेनाले भनेको छ । गएको दुई साताभित्रै सीमा क्षेत्रमा दुई देशका सैनिकहरू आमनेसामने भएको यो दोस्रो घटना हो । यसअघि अगस्ट २९ को राति पूर्वी लद्दाखमै दुवै देशका सैनिकबीच झडपको स्थिति बनेको थियो । त्यस घटनामा दुवै देशले एकआपसमा आरोप लगाएका थिए । तर, सीमा क्षेत्रमा गोली चलेको घटना भने ४५ वर्षपछिको पहिलो हो । दुई देशबीच करिब ३ हजार ५ सय किलोमिटर सीमाको विभिन्न खण्डमा तनाव हुँदै आए पनि गोली भने चलेको थिएन । अगस्ट २९ को घटनाका कारण परिस्थिति जटिल र तनावपूर्ण बनेको भन्दै त्यसलाई कम गर्न गत शनिबार दुई देशका रक्षामन्त्रीहरूले रुसको राजधानी मस्कोमा द्विपक्षीय छलफल गरेका थिए । छलफलमा भारतका तर्फबाट रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ समकक्षी वेई फेंगको नेतृत्वको टोली सहभागी भएको थियो । गत जुन १५ को मध्यरातमा गलवान उपत्यकामा दुवै देशका सैनिकहरूबीच झडप भएयताको यो सबैभन्दा उच्चस्तरीय भेट हो । दुई मुलुकबीच करिब आधा दर्जन क्षेत्रमा दशकौंदेखि विवाद रहँदै आएको छ  । सीमा विवादलाई लिएर सन् १९६२ मा दुई मुलुकबीच युद्धसमेत भएको थियो । चीन र भारतबीचको विवादास्पद क्षेत्रलगायत केही सीमा एलएसीबाट छुट्ट्याइएको छ  । दुवै मुलुकले समय–समयमा एकअर्कालाई एलएसीको उल्लंघन आरोप लगाउँदै आएका छन् । गत जुन दोस्रो सातादेखि गलवान उपत्यका, तातो पानी र पाङगोङ ताल क्षेत्रको त्यही एलएसीमा भएको अतिक्रमणलाई लिएर तनाव चर्किएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts