पाथीभरा याङवरकको सार्वजनिक सुनुवाई: कृषि क्षेत्रमा तीन‘क’को अवधारणा,गरिखाने कृषकलाई अधिकतम् सहयोग

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १२ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गरिखाने कृषक पहिचान गरी कृषि क्षेत्रमै आत्मनिर्भर गराउन किसानलाई सहयोग गर्ने भएको छ ।
गाउँपालिकाले बिहीबार वडा नं १ नाङखोल्याङमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष केशरकुमार सुब्बाले कृषिका तीन र कृषकका तीन क्षेत्रको पहिचान गरिएको जनाउनु भएको छ । अध्यक्ष सुब्बाका अनुसार पालिकाले कृषि क्षेत्रमा तीन ‘क’को सिद्धान्त अघि सारेको छ । जसअनुसार कफी,कपास र किवी पालिकाको मुख्य उत्पादन क्षेत्रको रुपमा पहिचान गरिएको छ । यस बाहेक टमाटर सहितका तरकारी बाली तथा सन्तोला र कागती सहितका फलफूल मुख्य उत्पादन क्षेत्रको रुपमा रहेको पालिकाले जनाएको छ ।
कृषकतर्फ गरिखाने,खोजेर गरिखाने तथा खोजी खाने गरी तीनतहका किसानहरु रहेको भन्दै पालिका अध्यक्ष सुब्बाले गरिखाने कृषकलाई व्यावसायिकतातर्फ केन्द्रित गर्न पालिकाले अधिकतम् सहयोग गर्ने विश्वास दिलाउनुभयो । गरिखाने कृषकको पहिचान गरी पालिकाले प्रदान गर्ने अनुदानका कार्यक्रममा उल्लेख्य सहयोग गर्न पालिकाले छिट्टै योजना बनाउने र आगामी आर्थिक बर्षबाट गरिखाने कृषकलाई व्यावसायमुखी बनाउने अध्यक्ष मेन्याङवोको भनाई छ । किसानहरुले अनुदानका कार्यक्रमका पर्याप्त सूचना नपाएको गुनासो गरेपछि अध्यक्ष मेन्याङवो,उपाध्यक्ष रनमाया गुरुङ,प्रमुख प्रशासकीय अधिकृत संगम पौडेल र वडा नं १ का वडाध्यक्ष दिलकुमार सुनुवारले सूचनामा कञ्जुस्याँई नभएपनि समस्याको थप पहिचान गरी गरिखाने किसानलाई व्यावसायिक बनाउन जोड दिने बचन दिनुभयो ।
अध्यक्ष सुब्बाले रैथानेबालीको प्रवद्र्धनका लागि पालिकाले बिशेष योजना अघि सारेको बताउँदै त्यसको प्रवद्र्धनका लागि मेवाखा क्षेत्रमा पाथीभरा कोशेली घर सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । किसानलाई अधिकतम् उत्पादनमा लाग्न सल्लाह दिदैं पालिका अध्यक्ष सुब्बाले उत्पादन भएको बस्तुको बजारीकरणका लागि पालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । पालिका अध्यक्ष सुब्बाले पालिकाको पहलबाट सुरु भएको कोशेली घरले कोदो,जौ,फापर,मौरीको मह,शुद्ध घीउ सहितका सामग्री खरिद गर्न अभिरुची राखेको र उल्लेखित सामग्रीको अभाव दर्शाइरहेकोले किसानको उत्पादनले बजारीकरणको समस्या खेप्न नपर्ने दावी गर्नुभयो ।‘तपाँई उत्पादनमा लाग्नुहोस्,हामी उन्नत बिऊबिजन देखि प्रविधिसम्मको सहयोग गर्छौं’अनुदानका कार्यक्रममा पालिकाकोतर्फबाट उच्च तहको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै पालिका अध्यक्ष सुब्बाले भन्नुभयो ।
अध्यक्ष सुब्बाले किसानका मागमा आधारित युग सुहाउँदो प्रविधि सहयोगमा पालिका उदार गरेको समेत प्रष्ट्याउनुभयो । पालिका अध्यक्ष सुब्बाका अनुसार अघिल्लो आर्थिक बर्षमा टमाटर खेतिबाट पालिकाका किसानले साढे ३ करोड बढी रकम कमाएका छन् । वडा नं २ थेचम्बुका किसानले मात्रै अघिल्लो आवमा २ करोड रुपैयाँको टमाटर बेचेर आम्दानी आर्जन गरेको अध्यक्ष सुब्बाले बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा पालिका उपाध्यक्ष गुरुङले पालिकाले नागरिकको अवस्था र परिस्थितिलाई मूल्याङ्कन गरी सहयोग गर्ने बिषयमा कुनै कसर बाँकी नराखेको बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित नागरिकले सार्वजनिक शिक्षा क्षेत्रको सुधार देखि सिचाँईको व्यवस्थापन,पालिका र वडाले सेवा प्रवाह गर्दा गर्नुपर्ने सूचना प्रवाहको कठिनाई,योजनाको भुक्तानी प्रकृया,योजनाको प्राविधिक नियमनसम्मका मुख्य सवाल उठाएका थिए । पालिकाले शुक्रवार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय समेतको समन्वयमा नागरिक सुनुवाई तथा पालिकाको आर्थिक बर्ष २०८१।८२ को सार्वजनिक सुनुवाई कार्यक्रम पालिकाको केन्द्र रहेको वडा नं २ थेचम्बुमा गर्दैछ । यस्तै शनिवार असार १४ गते पालिकाले वडा नं ४ डुम्रिसेमा नागरिकहरुको गुनासो,राय तथा सल्लाह ग्रहणका लागि कार्यक्रम आयोजना गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।