भारत–पाक युद्धबिरामसंगै क्रमशःखुल्न थाल्यो अलैंची बजार,मूल्यमा भने साविक भन्दा गिरावट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ७ । ‘कालोसुन’ नामले परिचित अलैंचीको बजार फेरि खुल्न थालेको छ ।

बुधवार ताप्लेजुङमा सालाखाला अलैंची ८८ हजार प्रतिमन(४० किलोग्राम)को दरले कारोवार भइरहेको अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गोलसाई प्रजातिको गुणस्तरीय अलैंची भने ९०–९२ हजार प्रतिमनसम्ममा खरिद गर्न सकिन्छ । अलैंची व्यवसायी कमल बरालले भने बुधवार अलैंची चलनचल्तिको ९० हजार प्रतिमन रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ । रेग्मीका अनुसार भारत र पाकिस्तानबिचको युद्ध अवधिभर भने अलैंचीको कारोवार प्राय ठप्प नै रहयो ।‘दुई देशको युद्धका कारण अलैंचीले तेस्रो बजार नपाउँदा कारोवार ठप्प भएको हुनसक्छ’रेग्मीले भन्नुभयो । उहाँका अनुसार भारत र पाकिस्तानको युद्ध बिरामसंगै अलैंचीको बजार खुल्न थालेको छ । युद्धको समयमा बाह्य कारोवार ठप्प भएपनि आन्तरिक कारोवार हुँदाका अवस्थामा केहिदिन अलैंची ८४–८५ हजार प्रतिमनका दरले मात्र कारोवार भएको रेग्मीले बताउनुभयो ।

अलैंचीको मूल्य भने साविक भन्दा ओरालो लागेको छ । यसबर्ष अलैंचीको उच्च कारोवार भएको समयमा सालाखाला अलैंची प्रतिमन १ लाख १२ हजार रुपैयाँ प्रतिमन सम्ममा कारोवार भएको थियो । गोलसाई प्रजातिको अलैंची भने प्रतिमन १ लाख १५ हजार रुपैयाँ सम्ममा कारोवार भएको रेग्मीले जानकारी दिनुभयो ।‘भाउ त अचाक्ली नै आएको हो,तर अहिले घटेर पो समस्या भयो’मूल्य उतारचढावले अलैंचीको व्यावसायिक प्रकृयामा पारेको असर बताउँदै रेग्मीले भन्नुभयो । यसबर्ष धेरै अवधिपछि अलैंचीको मूल्यले प्रतिमन १ लाख रुपैयाँ भन्दा माथि भाउ पाएको थियो । अलैंचीका लागि अब अन्तिम बिक्री सिजन हो । भदौ–असोजबाट अलैंचीको नयाँ उत्पादन बजारमा आउन थाल्छ ।

नेपालमा अलैंचीको आफ्नै सर्मथन मूल्य छैन । अलैंचीको बजार नै तेस्रो मुलुकमा निर्भर रहँदा तेस्रो मुलुकका व्यवसायीले निर्धारण गरेको मूल्यका आधारमा नेपालमा अलैंचीको कारोवार हुने गरेको अलैंची व्यवसायीहरु बताउँछन् । कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख बिमला पोख्रेल अलैंचीको प्याकेजिङ गरी मसलाको रुपमा नेपाल भित्रै प्रयोग गर्ने प्रणालीको विकास नगरेसम्म अलैंचीको बजारमा उत्पादककै मूल्य स्थापित हुन कठिन हुने बताउँनुहुन्छ ।‘सुकमेल किनेर प्रयोग गर्ने हामीले सुकमेल झैं मसलाको रुपमा अब अलैंचीको उपयोग गर्ने हो भने मात्रै नेपाली उत्पादनले नेपाली बजार स्थापित गर्ने छ’पोख्रेलले भन्नुभयो ।

नेपालमा उत्पादन हुने अलैंचीको ठूलो हिस्सा ताप्लेजुङले उत्पादन गर्छ । एक तथ्याङ्क अनुसार नेपालमा उत्पादन हुने अलैंचीको कुल परिमाणमध्ये ताप्लेजुङ एक्लैले करिव ४७ प्रतिशत उत्पादन हिस्सा ओगटेको छ । विश्वबजारमा अलैंची उत्पादनमा ५२ प्रतिशत हिस्सा ओगटेको नेपाल अलैंची बजारका लागि भने सधैँ भारतमा भर पर्नुपर्ने अवस्थाका कारण अलैंचीको मूल्यमा नियमित उतार–चढाव देखिने अलैंची जोन ताप्लेजुङका अध्यक्ष वालमणि बराल बताउँनुहुन्छ । नेपालबाट निर्यात हुने कृषि वस्तुमध्ये अलैंची सबैभन्दा बढी निकासी हुँदै आएको तथ्याङ्कले देखाउँछ ।

 

 

Similar Posts