पाथीभरा क्याम्पसमा बिद्यार्थी लक्षित लोक सेवा तयारी कक्षा

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १ । क्याम्पसमा पढ्ने बिद्यार्थीलाई लक्षित गरी ताप्लेजुङको फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा सुरु गरिएको छ ।
फुङलिङ नगरपालिकाको समन्वयमा क्याम्पसले लोक सेवा आयोगको तयारी कक्षाको सुरु गरेको हो । खरिदार(सहायक चौथो) र नायव सुब्बा(सहायक पाँचौं) तहको लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा सुरु गरिएको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो । करिब ४५ दिनसम्म सञ्चालन हुने तयारी कक्षाको सहजीकरण आयोग उत्तीर्ण गरी जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुले गर्ने क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पस प्रमुख पौडेलका अनुसार यस्तो प्रकृतिको तालिमको माग क्याम्पसमा अध्ययरत बिद्यार्थी स्वयंले गरेका हुन् । मागमा आधारित रहेर नगरपालिकाकोतर्फबाट आफुहरुले आर्थिक साझेदारी र समन्वय गरेको फुङलिङ नगरप्रमुख अमिर मादेनले जानकारी दिनुभयो । नगरपालिकाको समन्वयमा तयारी कक्षा सुरु गरिएपनि क्याम्पसमा पढ्ने सबै बिद्यार्थीलाई लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षामा सहभागी हुने अवसर मिलाईएको मादेनको भनाई छ ।
जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले तयारी कक्षाको भरपूर उपयोग गरेर उपलब्धी हाँसिल गर्ने दिशामा सहभागीलाई सफलता मिल्ने विश्वास लिनुभयो । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजमले लोक तथा शिक्षक सेवाप्रतिको बिद्यार्थीको अभिरुचीलाई ध्यानमा दिएर तयारी कक्षा सञ्चालन गर्न पाउँदा क्याम्पस परिवार प्रसन्न भएको बताउँदै तालिमबाट अधिक उपलब्धी हाँसिल गरी सरकारी सेवा प्रवेशको ढोका खुलाउन सहभागीलाई सुझाव दिनुभयो ।
पाथीभरा बहुमुखी क्याम्पस जिल्लाकै एकमात्र स्नातकोत्तर तहको अध्याउन हुने शिक्षण संस्था हो । सिरिजङ्गा गाउँपालिकाको वडा नं १ सिनामस्थित सिनाम क्याम्पसमा स्नातक तहसम्मको अध्ययन हुँदै आएको छ ।