तमोर–५ जलविद्युत आयोजनाद्धारा तमोर नदी माथि ताम्मावा र फेम्बु जोड्ने बेलिब्रिज निर्माण सम्पन्न

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ आयोजना क्षेत्र रहेको तमोर–५ जलविद्युत आयोजनाले फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक र वडा नं ६ लेलेप जोड्ने बेलिब्रिज निर्माण सम्पन्न गरेको छ ।
फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकका दीपक लिम्बूले ताम्मावा र फेम्बु जोड्नेगरी तमोर नदीमाथि बेलिब्रिज निर्माण कार्य पूरा भएको जानकारी दिनुभयो । ‘अब यातायात समेत सहज हुनेभयो’लिम्बूले भन्नुभयो । ७ करोड ५० लाख रुपैयाँको लागतमा उक्त पुल निर्माण कार्य पूरा भएको जलविद्युत योजनाले जनाएको छ । ३७.५ मेगावाट क्षमताको तमोर–५ जलविद्युत आयोजना रिभर साईड हाईड्रो इनर्जी प्रालिले प्रवद्र्धन गरिरहेको आयोजना हो । तमोर–५ आयोजनाको तल्लो तटिय क्षेत्रमा निर्माणाधिन २ सय ८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना रहेको छ । तमोर–५ जलविद्युत आयोजना फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ मा अवस्थित तमोर नदीको दाँया किनारमा पर्छ । यो आयोजना नदी प्रवाहमा आधारित(आरओआर) प्रकृतिको हो ।
जलविद्युत आयोजनाको डिजाइन डिस्चार्ज ५५ घनमिटर प्रति सेकेण्ड,ग्रस हेड ८० मिटर,नेट हेड ७७.०९ मिटर रहेको छ । जलविद्युत आयोजनाको बार्षिक उर्जा उत्पादन २१९.६१३ गिगावाट आवर रहेको छ । बर्षायाममा १५४.६७४ गिगावाट आवर र सुख्खा याममा ६४.९३९ गिगावाट आवर रहने छ । आयोजनामा प्रयोग हुने बाँध तथा टर्वाइनको स्तर समुद्री सहतबाट १ हजार ५ सय ८ देखि १ हजार ४ सय २४ मिटर सम्मको उचाईमा रहने छ । आयोजनाबाट उत्पादित विद्युत करिव २६ किलोमिटर लामो प्रसारणलाइनमार्फत तमोर–५ जलविद्युत आयोजनाको विद्युतगृहदेखि १३२ केभिए प्रसारण लाइन ढुङ्गेसाँघु सव स्टेशनमा जोडिने छ ।
आयोजनाको बाँधस्थल तमोर नदी र सिम्बुवाखोला दोभान भन्दा करिव ५ सय मिटर उत्तरतर्फ अवस्थित रहने छ । आयोजनाको विद्युत गृह तमोर नदी र सिम्बुवाखोला संगमबाट करिव १ हजार ५ सय मिटरमा रहने छ । तमोर–५ जलविद्युत आयोजनामा १ हजार ७ सय ८४ मिटर लामो सुरुङमार्ग हुने छ । वातावरणीय सम्भाव्यता अध्ययन गर्दाको समय(२०७६ मंसिर महिना)मा आयोजनाको कुल लागत नेपाली रुपैयाँ १४८३ मिलियन प्रति मेगावाट रहन सक्ने अनुमान गरिएको थियो । अहिले लागत अनुमानमा भने केहि तलमाथि हुन सक्ने छ ।