सोमवार पाथीभरा क्षेत्रमा भएको घटनामा परी मृत्यु भएका ४ जनाकै शव पोष्टमार्टम पछि आफन्तको जिम्मामा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ९ । लत्रिएको बिद्युत तार सवारी माथि पर्दा करेन्ट प्रवाहका कारण सोमवार बिहान पाथीभरा क्षेत्रमा भएको घटनामा मृत्यु भएका ४ जनाकै शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) रवि रावलका अनुसार तीनजनाको सोमवार साँझ र एकजनाको मंगलवार बिहान पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईएको हो । मृत्यु भएकामध्ये ललितपुर महानगरपालिका वडा नं १० का १६ बर्षिय आध्या आचार्य,उहाँका मावली हजुरबुबा झापा भद्रपुर नगरपालिका वडा नं १५ का ७० बर्षिय बिनोद पौडेल र मावली हजुरआमा ६९ बर्षिय सरिता पौडेलको शव सोमवार साँझ पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाईएको थियो । मंगलवार सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने अन्दाजी ४२ बर्षिय दुर्गा भट्टराईको शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
पाथीभरा दर्शनका लागि सोमवार बिहान त्यसतर्फ हिंडेका चालक सहित ६ जना सवार मे१ज ३०११ को सवारीमाथि तेर्से र गुन्द्रेको बिच भागमा लत्रिएको बिद्युत तार पर्दा भएको करेन्ट प्रवाहका कारण गाडीमा आगलागी भएको थियो । सो क्रममा चालक सहित ४ जनाको मृत्यु भएको थियो भने आमा छोरा ललितपुर महानगरपालिका वडा नं १० का ४५ बर्षिय सबिना आचार्य र उनका १० बर्षका छोरा अभिमय आचार्यलाई ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।