८० प्रतिशतसम्म अनुदान दिएर पशु विकास कार्यक्रम सञ्चालन गर्दै मेरिङदेन,अनुदानका लागि बन्यो कार्यविधि

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २५ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पशु विकास समूहलाई अधिकतम् ८० प्रतिशत सम्म अनुदान दिएर पशु विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले पशुपालन व्यवसायलाई व्यवसायिक,प्रतिश्पर्धी,आधुनिक र प्रविधिमैत्री बनाई कृषक तथा पशुपालकको आयआर्जनको बृद्धिका लागि अनुदानमा आधारित पशु विकास कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार लक्षित वर्ग र क्षेत्रको पहितान गरी पशु विकास कार्यक्रमका लागि अधिकतम् ८० प्रतिशत सम्म अनुदान दिने व्यवस्था सहितको कार्यविधि बनाई लागु गरिएको छ ।
कार्यविधि अनुसार पशु विकास कार्यक्रम तीनबर्षसम्म निरन्तर सञ्चालन हुने छ भने त्यसपछि साझेदार स्वयं सक्षम हुने अपेक्षा छ । ८ देखि २२ जनासम्म कृषक सदस्य सहभागी भई गठन भएको समूह अनुदान प्राप्त गर्ने कृषक समूहको रुपमा सहभागी बन्न पाउने भएका छन् । तर,समूह सदस्य हुनका लागि कार्यविधिले केहि सर्त सहितका प्रावधान तोकेको छ । कृषक समूह सदस्य बन्न कम्तिमा दुईमाउ गाई वा भैंसी पालन गरी दुग्ध उत्पादन तथा बिक्री बितरण गर्दै आएका किसान,कम्तिमा २० प्रतिशत लागत साझेदारी गर्न सक्ने र साझेदारीका लागि चाहिने रकमको स्पष्ट आर्थिक स्रोत खुल्ने कृषक र दुध उत्पादनबाट आयआर्जन बढाउन इच्छुक कृषक मात्र लाभग्राही कृषक समूहका सदस्य बन्न पाउने भएका छन् ।
समूह गठन गर्दा महिला कृषक सदस्यको कम्तिमा ३३ प्रतिशत सहभागितालाई कार्यविधिले अनिवार्य गरेको छ । लाभग्राही छनौट गर्दा भौगोलिक तथा वातावरणीय हिसावले गाई–भैंसी पालनका लागि राम्रो सम्भावना क्षेत्र हुनुपर्ने,समूहका हरेक सदस्यले कम्तिमा दुईमाभ गाईभैंसी पालन गरिरहेको हुनुपर्ने,घाँस खेतिको राम्रो सम्भावना भएको क्षेत्र हुनुपर्ने,व्यवसायिक गाईभैंसी पालनको राम्रो सम्भावना भएको क्षेत्र हुनुपर्ने,दुध तथा मासुको बजारीकरणको प्रष्ट योजना भएको हुनुपर्ने,कार्यक्रमप्रति कृषकको राम्रो झुकाव र प्रभावकारी कार्यान्वयनको आधार हुनुपर्ने जस्ता बिषयलाई आधार बनाईने भएको छ ।
पालिकाले कार्यविधिमार्फत अनुदानका क्षेत्र समेत तोकेको छ । जसअनुसार पशु नष्ल सुधार,कृषकको क्षमता विकास,पशुपालनको पूर्वाधार विकास,दुग्ध तथा दुग्धजन्य बस्तुको बजारीकरण,पशुपोषण सुधार कार्यक्रम,पशु स्वास्थ्य कार्यक्रम र पशु बीमा कार्यक्रम सञ्चालन रहेका छन् । कार्यविधिले लाभग्राहीका लागि सर्त र बन्देज निर्धारण गरेको छ । अनुदान प्राप्त गर्ने कृषकले कम्तिमा दशबर्ष सम्म गाईभैंसी पालनलाई निरन्तरता दिनुपर्ने छ ।
पशु विकास कार्यक्रममा संलग्न अनुदानग्राही कृषकले कार्यक्रमको अन्त्य सम्ममा (तीनबर्षे अवधि)एकमाउ उन्नत सहित कम्तिमा तीनमाउ गाईभैंसी पालनपोषण गरी कम्तिमा १० लिटर दुध बिक्री बितरण गरेको हुनुपर्ने,गाईभैंसीको भकारो सुधार गरी काउ म्याटको प्रयोग गरेको, कुटी काटेर घाँस दिने प्रवृत्तिको अनिवार्य विकास गरेको र कृषकले अनिवार्य रुपमा पशु बीमा गरेको हुनुपर्ने छ । यस्तै मौसम र हावापानी अनुसार हिउँदे,बर्षे,बहुबर्षे,डालेघाँस खेति र साइलेस प्रविधिको अवलमबन गरेको हुनुपर्ने,पशु विकास कार्यक्रम सम्पन्न हुनेबेलामा कम्तिमा ८० जना कृषक आबद्ध भएको हुनुपर्ने र दैनिक ८ सय लिटर दुध बिक्री भएको हुनुपर्ने सर्त कार्यविधिमा उल्लेख गरिएको छ ।