पाथीभरा केवलकार विवाद:आन्दोलनरत पक्षले खोज्यो राजनीतिक तहको वार्ता समिति

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २१ । पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि गठित समितिले समस्या समाधान गर्न नसक्ने भन्दै आन्दोलनरत पक्षले उच्च स्तरको राजनीतिक नेतृत्वको वार्ता टोली गठन हुनुपर्ने औंल्याएको छ ।
आन्दोलनरत घटक मध्येको एक घटक किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले सरकारले वार्ताका लागि गरेको आवह्वान सकारात्मक भएपनि पाथीभरा क्षेत्र र केवलकारको निर्णय राजनीतिक तहबाट भएकोले जारी समस्या समाधान पनि राजनीतिक तहको वार्ता टोलीमार्फत हुनुपर्ने पक्षमा आफूहरू रहेको बताउनुभयो । यद्यपी यो समाचार तयार पार्दा सम्म आन्दोलन घटकहरुको सरकारी बार्ताटोली बारेको औपाचारिक धारणा भने बाहिर आएको छैन ।
गत माघ १२ गते पाथीभरा क्षेत्रमा भएको झडपपछि उत्पन्न समस्या समाधानका लागि नेपाल सरकारको तर्फबाट गृह मन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका आवह्वान गरेको थियो । वार्ता समिति ‘पोलिटिकल लेभल’बाट बन्नुपर्नेमा कर्मचारी तहबाट बनेकोले राजनीतिक तहको समितिसँग वार्तामा बस्ने पक्षमा आफूहरू रहेको एक्तेनले बताउनुभयो । उहाँले वार्ताअघि ताप्लेजुङ र झापा सहितका जिल्लामा प्रहरी नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ता रिहा हुनुपर्ने, केवलकार निर्माण कार्यस्थलबाट निर्माण उपकरण र सुरक्षाकर्मी फिर्ता हुनुपर्ने सहितका अडान कायमै रहेको बताउनुभयो ।
माघ १५ गतेबाट आन्दोलनरत पक्षले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा यातायात बन्द गरेका उनीहरूले माघ २० र २१ गतेका लागि अरुण पूर्वका ९ जिल्लामा यातायात बन्दको आवह्वान गरेका छन् । माग पूरा नभए उनीहरूले अरुण पूर्वका ९ जिल्लामा आम हड्ताल समेतको घोषणा गरिसकेका छन् । कोशी प्रदेश सरकारले वार्ताको आह्वान गर्दा समेत उनीहरूले संघीय सरकारको वार्ता टोलीसँग मात्र वार्तामा बस्ने बताएका थिए ।