कार्यालय समय भन्दा अतिरिक्त पनि काम गर्ने कर्मचारीलाई आठराई त्रिबेणीले प्रोत्साहन भत्ता उपलब्ध गराउने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १५ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले कार्य सम्पादनमा उत्प्रेरणा जगाउन कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेवापत कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यविधि तयार गरेको छ ।

कर्मचारीहरुको कार्य सम्पादन स्तरलाई उच्च राख्न र स्थानीय सरकारका नीति निर्णयलाई द्रुत गतिमा कार्यान्वयनमा लैजान भूमिका खेल्ने कर्मचारीहरुलाई कार्य सम्पादनका आधारमा प्रोत्साहनभत्ता दिनेगरी गाउँपालिकाले कार्यविधि बनाएको हो । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार कर्मचारीको कामको उचित मूल्याङकन वोध हुने,कर्मचारीमा अनुशासन,परिश्रमी,इमान्दार,लगनशिल सहितको गुणको विकास हुने,कार्य सम्पादन नतिजामा बृद्धि हुने देखेर यस्तो कार्यविधि बनाईएको हो । कार्यालयमा रहेको बिद्युतीय हाजिरीको अभिलेख,कार्यालयको अतिरिक्त समयको कार्य सम्पादनको अभिलेख मूल्याङ्कन गरी प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यविधिमा भनिएको छ ।

कार्यविधि अनुसार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देखि वडा सचिव र स्वास्थ्य शाखाका प्रमुख सहितका कर्मचारीलाई कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेवापत यस्तो प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने छ । कार्य सम्पादनमा अतिरिक्त लगानी गरेको समयका आधारमा सुरु तलव स्केलको २० प्रतिशत देखि ६० प्रतिशत सम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने कार्यविधि बनेको छ । कार्यविधि अनुसार पालिकाका अमिनको हकमा कार्यालयबाट स्वीकृत आदेश बमोजिम फिल्डमा खटिएको जम्मा १ दिनको तलव बराबर प्रतिदिनका दरले प्रोत्साहन भत्ता उपलब्ध गराइने छ ।

ईञ्जिनियरिङ सेवा अन्र्तगत भौतिक पूर्वाधार तथा वातावरण व्यवस्थापन शाखाका प्रमुखलाई मासिक सुरु तलव स्केलको २५ प्रतिशत बराबर तथा अन्य प्राविधिक कर्मचारीको हकमा मासिक तलव स्केलको २० प्रतिशत फिल्ड भत्ता उपलब्ध गराइने भएको छ । कार्यविधि अनुसार महिनाको ५० घण्टा भन्दा बढी कार्यालय समयको अतिरिक्त समय काम गर्ने कर्मचारीलाई सुरु तलव स्केलको ५० प्रतिशत,४५ घण्टा भन्दा बढी अतिरिक्त समय काम गर्नेलाई ४५ प्रतिशत,३५ घण्टा भन्दा बढी काम गर्नेलाई ३५ प्रतिशत र २५ घण्टा भन्दा बढी अतिरिक्त समय काम गर्नेलाई २० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

प्रत्येक महिना कर्मचारीले कार्यालय समय भन्दा अतिरिक्त गरेको कामको मूल्याङ्नक बिद्युतीय हाजिरीको अभिलेख उतार तथा प्रमुख प्रशासकीय अधिकृतले राखेको अतिरिक्त समयको कामको अभिलेखमार्फत गरिने भएको छ । अतिरिक्त समय लगानी गर्न उपयुक्त भए नभएको मूल्याङ्कन गरी काममा खटाउन प्रमुख प्रशासकीय अधिकृतको लिखित वा मौखिक स्वीकृति भने अनिवार्य गरिएको छ । जनशक्ति कम भएर कार्य सम्पादनमा असर पर्ने समस्या हटाउन पालिकाले कार्यरत कर्मचारीलाई अतिरिक्त समयमा समेत काम दिएर कार्य सम्पादनको गति बढाउने योजना बनाएको बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts