चालू आवको ५ महिनामा ताप्लेजुङबाट झण्डै साढे ४ लाख क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २२ । चालू आर्थिक बर्ष २०८१।८२ को ५ महिनाको अवधिमा ताप्लेजुङबाट झण्डै साढे ४ लाख क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान भएको छ ।
जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकमा डिभिजन वन कार्यालयले चालू आवको साउन महिना देखि मंसिर सम्ममा ४ लाख २६ हजार २ सय ५३ क्युविक फिट निजी वन क्षेत्रको काठका लागि निकासी भएको जानकारी दिएको हो । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत तथा सूचना अधिकारी परमेश्वर पासवानका अनुसार उक्त काठको स्थानान्तरण इजाजत गरेवापत वन कार्यालयमा १ करोड ३० लाख ६० हजार रुपैयाँ मूल्य अभिबृद्धि कर तथा १ लाख ६५ हजार रुपैयाँ प्रदेश सेवा शुल्क वापतको रकम जम्मा भएको छ । यस्तै ५ महिनाको अवधिमा राष्ट्रिय वन क्षेत्रबाट ३३ हजार ७ सय ८८ किलोग्राम जडिबुटी संकलनको छुट पूर्जी जारी भएको छ । यसवापत वन कार्यालयमा १ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन भएको समेत वन कार्यालयका सूचना अधिकारी पासवानले जानकारी दिनुभयो ।
आव २०८०।८१ मा ताप्लेजुङबाट झण्डै १७ लाख क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान भएको थियो । डिभिजन वन कार्यालयले आव २०८०।८१ मा स्थानान्तरण इजाजत दिएको गोलिया काठबाट मूल्य अभिबृद्धि कर वापत ६ करोड ३५ लाख ३४ हजार ९ सय २६ रुपैयाँ र प्रदेश सेवा शुल्क वापत ५१ लाख ३ हजार ६ सय ७८ रुपैयाँ असुल गरेको थियो । पाससानका अनुसार डिभिजन वन कार्यालयमा चालू आवमा अघिल्लो आवको तुलनामा झण्डै ६० प्रतिशत बजेट बढेर आएको छ । चालू आवका लागि कर्मचारी तलवत्ता बाहेक कार्यक्रम शीर्षकमा २ करोड ६३ लाख रुपैयाँ प्राप्त भएको डिभिजन वन कार्यालयले जनाएको छ । यसबर्ष वन कार्यालयमा प्रदेश सरकार बाहेक संघीय सर्शत अनुदान समेत प्राप्त भएको वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयमा प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम,प्रदेश अभियान कार्यक्रम र जडिबुटी विकास कार्यक्रम सञ्चालनका लागि बजेट आएको छ । विश्व वातावरण सुविधा(जिईएफ)बाट खाद्य तथा कृषि संगठनमार्फत १ करोड ५० लाख रुपैयाँ प्राप्त भएकोले अघिल्लो आव भन्दा चालू आवको प्राप्त बजेटको आकारमा बृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । जिईएफमार्फत ताप्लेजुङसहित ५ जिल्लाका ३४ स्थानीय तहका १ सय ८६ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको छ ।
पासवानका अनुसार ताप्लेजुङ,पाँचथर,इलाम,तेह्रथुम र संखुवासभामा विश्व वातावरण सुविधा अन्तरगतका कार्यक्रम सञ्चालन भइरहेका छन् । ताप्लेजुङका ९ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको समेत डिभिजन वन कार्यालयले जानकारी दिएको छ । ५ जिल्लाका ३ लाख ५७ हजार ५ सय हेक्टर वन क्षेत्रमा विश्व वातावरण सुविधाको कार्यक्रम सञ्चालन हुने छ । कार्यक्रमबाट २७ हजार घरधुरी लाभान्वित हुने लक्ष्य लिईएको छ । जीईएफ कार्यक्रमका लागि ४ बर्षमा परियोजना क्षेत्रका ५ जिल्लामा करिव ५५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दीगो वन विकास तथा व्यवस्थापन लक्षित कार्यक्रम सञ्चालन गर्ने परियोजनाको लक्ष्य छ ।