सिकैचाको वडाध्यक्ष उपनिर्वाचनका लागि ५ जनाको उम्मेदवारी दर्ता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षको उपनिर्वाचनमा ५ जनाको उम्मेदवारी परेको छ । मनोनयन गराउनेमा राजनीतिक दलका मात्र छन् ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस विकास श्रेष्ठले ५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिनु भएको छ । उहाँका अनुसार नेपाली काँग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बूले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा एमालेबाट कुमारी साउदेनले उम्मेदवार दर्ता गराउनु भएको छ । नेकपा माओवादी केन्द्रबाट अम्बि साउदेनले उम्मेदवारी दिनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेलेको उम्मेदवारी परेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बूवानबाट राजेन्द्र काङ्वा लिम्बू उम्मेदवार बन्नु भएको छ । त्यहाँ नागरिक उन्मुक्ति पार्टीले समेत उम्मेदवारी दिने बताउँदै आएपनि उम्मेदवारी दर्ता भने भएन ।
२०७९ सालको स्थानीय तहको निर्वाचनका त्यहाँ काँग्रेस,माओवादी केन्द्र र नेकपा एसको गठबन्धन थियो । एमाले र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एक्ला–एक्लै चुनावमा थिए । उक्त निर्वाचनमा काँग्रेसका उम्मेदवार दिलप्रसाद बोखिम एमाले उम्मेदवार साउदेनलाई ४ मतान्तरले पराजित गर्दै वडाध्यक्ष निर्वाचित हुनु भएको थियो । बैदेशिक रोजगारीमा हङकङ जानु भएका उहाँले करिव एकबर्षपछि उतैबाट राजीनामा पत्र पठाएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
उम्मेदवारी दर्ताका लागि मुख्य राजनीतिक दलका शीर्ष नेतृत्व सिकैचामा भेला हुनु भएको थियो । एमाले केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई,पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्वो,केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उर्मिला थेबे,जिल्ला अध्यक्ष डम्बरध्वोज तुम्बाहाम्फे सहितका नेताहरु सिकैचा पुग्नु भएको थियो ।
काँग्रेसबाट सयदिने अभियानका लागि ताप्लेजुङको नेतृत्वकर्ता बन्नु भएकी प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय,प्रतिनिधिसभा सदस्य तथा महासमिति सदस्य लीलादेवी बोखिम,जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ सहितका नेता त्यहाँ पुग्नु भएको थियो ।
माओवादी केन्द्रबाट केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग),जिल्ला संयोजक विष्णुकुमार हाङवाङ लिम्बू सहितका नेता पार्टीका उम्मेदवारको मनोनयनमा सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठ,सिरिजङ्गा गाउँपालिका कमिटी सभापति भवानी दाहाल(भीम),प्रदेश कृषि विभाग सदस्य नरेन्द्र तिवारी(नयनाथ) सहितका नेता उपस्थित हुनु भएको थियो ।