ताप्लेजुङमा आफ्नै घर-टोलमा नाचगान गरेर तीज मनाइयो
उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ५ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङका महिलाहरुले आफ्नै घर र टोलमा नाचगान गरेर तीज मनाएका छन् । विगतका वर्षमा एक ठाउँमा जम्मा भएर औपचारिक कार्यक्रम आयोजना हुने गरेकोमा यसवर्ष कोभिड–१९ का कारण सदरमुकाम फुङलिङ बजारका महिलाले आफ्नो टोलटोलमा नाचगान गरेर तीज मनाएका हुन् ।
औपचारिक रुपमै नाचगानसहितका विभिन्न कार्यक्रम गरेर तीज भव्य रुपमा मनाउने गरिएकोमा यसवर्ष कोभिडका कारण सम्भव नभएको फुङ्लिङ नगरापालिका–५ की वडाध्यक्ष भीमादेवी ओझाले बताउनुभयो । तीज नेपाली नारीहरुको महान् पर्व भए पनि यो वर्ष घर परिवारमै सीमित भई मनाउनुपर्ने बाध्यता भएको ओझाको भनाइ छ ।
यता औपचारिक कार्यक्रम गर्न सम्भव नभएपछि नजिकका छिमेकबीच आपसमा पाँच÷सात जनासम्म आफ्नै टोलमा जम्मा भएर शुभकामना आदानप्रदानसहित नाचगान गरेर तीज मनाएको फुङ्लिङ बजारको तोक्मे क्षेत्रका महिलाले बताएका छन् । घरकै आँगन र पेटीमा सामान्य नाचगान गरेर तीज पर्व मनाएको उनीहरुको भनाइ छ ।
यस्तै अधिकांश महिलाले घरमै बसेर तीज मनाएका छन् भने कोही सुकेटार, सिद्धिडाँडा लगायतका नजिक रहेको घुम्न लायक ठाउँहरुमा घुमफिर गरेर तीज मनाएका छन् । विगतमा उल्लासमय बनाउनेगरी विभिन्न गरगहानसहित साडी र चोली लगायतका पहिरन लगाएर तीज मनाउने गरिएकोमा यसवर्ष सीमित महिलाहरुले मात्र यस्ता पहिरनमा सजिएर तीजको सम्झाना गरेको पाइएको छ । ग्रामीण क्षेत्रतिर पनि विगतमा जस्तो तामझाम गरी तीज नमनाएको बताइएको छ ।