‘दिलमायाको चिया दोकान’को लोर्कापण संगै गीतका सर्जक टंक भट्टराईको भावुक बिदाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २० । साना तथा लघु व्यवसायीहरुको सम्मान तथा ताप्लेजुङका पर्यटकिय स्थलहरुको प्रवद्र्धन केन्द्रित गीत‘दिलमायाको चिया दोकान’आईतवार लोर्कापण गरिएको छ ।

‘होटल जन्नु इन तथा पार्टी प्यालेस’मा आयोजित कार्यक्रमकाबिच प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले गीत लोर्कापण भएको घोषणा गर्नुभयो भने ६ बर्षिया बालिका आयुष्मा महताराले गीतको ध्वनी बजाइदिएर गीतलाई पहिलोपटक सार्वजनिक भएको संकेत गर्नुभयो । ताप्लेजुङमा दुईबर्ष तीन महिना सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालनु भएका टंक भट्टराईको शब्दमा रहेको गीत पाथीभरा क्रिएसन हाउसमार्फत बजारमा आएको हो । पाथीभरा क्रिएसन हाउसका प्रोपाईटर हर्कराज गुरुङका अनुसार उक्त गीतको म्युजिक भिडियोको छायाँकन समेत लगभग सकिएको छ । सम्पादन पछि म्युजिक भिडियोलाई सार्वजनिक गरिने गुरुङले जानकारी दिनुभयो ।

संगितकार राजनराज शिवाकाटीले संगित भरेको गीतमा गायिका मिलन नेवार र इञ्जिनियर समेत रहनु भएका गायक वीरेन्द्र श्रेष्ठले स्वर दिनु भएको छ । गीत र म्युजिक भिडियो बनाउन भूमिका खेल्नु भएका श्रेष्ठले साना उद्यमीहरुको व्यवसायिक लगावको सम्मान र ताप्लेजुङका पर्यटकिय स्थलहरुको प्रचार तथा प्रवद्र्धनका लागि गीत तयार भएको बताउनुभयो । साहित्यकार समेत रहनु भएका गीतका शब्द सर्जक भट्टराईले ताप्लेजुङमा सेवारत रहँदा यहाँको माटो,प्राकृतिक सुन्दरता,सांस्कृतिक विविधता भित्रको एकता र लगनशिल उद्यमीहरुको आफ्नो पेशा व्यवसायप्रतिको अगाध निष्ठालाई हेरेर आफुले गीतको शब्द कोरेको बताउनुभयो । ताप्लेजुङको बिशेषता र यहाँको महत्व झल्काउने गीत ‘ताप्लेजुङको शीरैमा सेतो जुहार’बोलको गीतका सर्जक समेत रहनु भएका भट्टराईको उक्त बोलको गीत स्रोता तथा दर्शकले धेरै रुचाएका गीत भित्र पर्छ । उक्त गीतको समेत म्युजिक भिडियो तयार भई यसअघि नै सार्वजनिक भइसकेको छ ।

उत्तरी ताप्लेजुङमा अवस्थित प्रमुख पर्यटकिय स्थल ओलाङचुङगोलाको चिनारी,महत्व र त्यहाँको रहनसहन तथा जीवनशैलीमा आधारित रहेर भट्टराईले अर्को गीतका शब्द कोर्नु भएको छ । उक्त गीत समेत चाँडै सार्वजनिक गर्ने तयारी गरिएको छ । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयबाट सरुवा भएपनि उक्त गीतको म्युजिक भिडियोका लागि उहाँ फेरि ताप्लेजुङ आउने तयारीमा रहनु भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट उहाँको राष्ट्रिय महिला आयोगमा सरुवा भएको छ ।

पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले जागिरको सिलसिलामा ताप्लेजुङ बसिञ्जेल भट्टराईले साहित्य सृजना र गीत लेखनमार्फत ताप्लेजुङको प्रवद्र्धन गर्नमा जोड दिएको बताउनुभयो । प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा लिटलबुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले साहित्य र संगितमार्फत ताप्लेजुङको पहिचान बलियो बनाउन भूमिका खेल्नु भएका भट्टराईको प्रशंसा गर्दै ‘पर्यटन सद्भावना दुत’को उपाधि दिन सरोकारवाला समक्ष प्रस्ताव समेत गर्नु भएको छ ।

कोशी प्रदेश सरकारका पूर्व मन्त्री बलबहादुर साम्सोहाङ,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा सहित लब्ध प्रतिष्ठित व्यत्तित्वहरुको उपस्थितिमा गीतको लोर्कापणसंगै सरुवा हुनुभएका भट्टराईको भावुक बिदाई समेत गरिएको छ । ‘साहित्य,गीत–संगित,लघु उद्यमीहरुको प्रवद्र्धन,सेवाग्राहीमैत्री,निष्ठावान राष्ट्रसेवकलाई ताप्लेजुङबाट बिदा गर्नुपर्दा दुःख लागेको छ ‘नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्रप्रसाद भारतीले भट्टराई एक असल नागरिक र निष्ठावान राष्ट्रसेवक भएको प्रतिक्रिया यसरी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts