| |

खेवाङ गोल्डकप फुटबल प्रतियोगिता कात्तिक १० देखि

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ११ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा खेवाङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । खेवाङ स्पोर्टिङ क्लबको आयोजनामा आगामी कात्तिक १० गतेदेखि १५ गतेसम्म प्रतियोगिताको सातौं संस्करण हुने भएको हो ।
आयोजक खेवाङ स्पोर्टिङ क्लबले शुक्रबार फुङ्लिङ सदरमुकाममा पत्रकार सम्मलेन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ । क्लबका अध्यक्ष विनम माबोका अनुसार प्रतियोगितामा आठ टोलीको सहभागिता रहने र सहभागी हुने टोलीको टुंगो पनि लागिसकेको छ ।
कोशी प्रदेशस्तरीय प्रतियोगितामा आयोजक खेवाङ स्पोर्टिङ क्लबसहित जिल्लाभित्रको स्थानीय टोलीमा तेल्लोक स्पोर्टिङ क्लब, नैना कम्पनी प्रालि खेवाङ सहभागी हुने क्लबका अध्यक्ष माबोले जानकारी दिनुभयो । यस्तै लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम र पेदाङ स्पोर्टिङ क्लब सहभागी हुनेछन् ।
त्यस्तै जिल्ला बाहिरबाट नेपाल पुलिस क्बल कोशी प्रदेश, रेड स्टर फुटबल क्लब झापा र पाँचथरको कुम्मायक गाउँपालिका टोलीको प्रतियोगितामा सहभागिता रहने छ । आयोजकका अनुसार प्रतियोगिताको विजेताले एकलाख ५१ हजार १११ रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेताले एकलाख एक हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यसैगरी प्रतियोगितामा खेलाडीका लागि विभिन्न विधागत पुरस्कारको व्यवस्था गरिएको पनि आयोजक क्लबका अध्यक्ष माबोले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि करिव १५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएकोसमेत अध्यक्ष माबोले बताउनुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अधयक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts