ताप्लेजुङका दुई स्थानीय तहका ३९ बिद्यालयमा युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सुरु हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २७ । ताप्लेजुङका दुई स्थानीय तहका ३९ वटा बिद्यालयमा युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सुरु हुने भएको छ ।

५ बर्ष भित्र देशभरका स्थानीय तहमा लागु हुने यो कार्यक्रम अन्तरगत पहिलो चरणमा ताप्लेजुङको पाथीभरा याङवरक र आठराई त्रिबेणी गाउँपालिका सहित कोशी प्रदेशका ७ स्थानीय तहका बिद्यालयहरुमा लागु हुनेछ । कोशी प्रदेशमा १ सय ३७ स्थानीय तह छन् । कक्षा १–३ सम्मका बालबालिकाको सिकाइ प्रतिफलमा सुधार ल्याउन युएसएआइडीले आगामी पाँच वर्ष नेपालका सात वटै प्रदेशका स्थानीय सरकारहरूसँग सहकार्य गर्ने नीति अनुरुप उक्त कार्यक्रम सुरु हुन लागेको हो ।

पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार सो गाउँपालिकाका कक्षा १–३ सञ्चालन भएकामध्ये १८ वटा बिद्यालयमा उक्त कार्यक्रम सुरु हुने छ । ‘कक्षा १–३ पढाई हुँदै गरेका बिद्यालयमा कम्तिमा १५ जना बिद्यार्थी नियमित अध्ययन गरेको बिद्यालयलाई मात्र कार्यक्रम छनौटको आधार तय भएको छ ’बिराटनगरमा सम्पन्न बिद्यालय अनुदान कार्यान्वयन सम्वन्धी कार्यशालामा सहभागी भएर फर्किदैं गर्नु भएका पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष सुब्बाले भन्नुभयो । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा भदौ २५ र २६ गते युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम अनुदान सम्वन्धी कार्यान्वयन सम्वन्धी कार्यशाला सम्पन्न भएको थियो ।

आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले आफ्नो पालिकाका २१ वटा बिद्यालयमा युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम सुरु हुने जानकारी दिनुभयो । कार्यक्रम अन्तरगत युएसएआइडीले सीमान्तकृत समुदायहरूमा रहेका न्यून उपलब्धिमूलक विद्यालयमा पाठ्यपुस्तक,शौचालय,पुस्तक कुना र कक्षाकोठा सुधारलगायतका विविध आवश्यकताहरूमा सहयोग गर्ने छ । यसका लागि प्रति बिद्यालय ४ हजार अमेरिकी डलर सहयोग हुने प्रतिबद्धता युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम व्यक्त गरेको समेत पोमूले जानकारी दिनुभयो ।
प्रारम्भिक कक्षा सिकाई कार्यक्रमको प्रादेशिक कार्यशालामा बिराटनगरमा भेला भएका सहभागी । तस्बिर ः आठराई त्रिबेणी गाउँपालिका वडा नं २ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङको फेसबुक पेजबाट । 

अरुलाई पनि शेयर गरौ !

Similar Posts