ताप्लेजुङका अधिकाँस जलविद्युत परियोजना वृक्षरोपणमा चुकेको सामुदायिक वन अधिकारकर्मीको गुनासो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । सामुदायिक वन अधिकारकर्मीहरुले ताप्लेजुङमा सञ्चालित अधिकाँस जलविद्युत परियोजनाहरु जिम्मेवारी अनुसारको वृक्षरोपणमा चुकेको आरोप लगाएका छन् । सामान्यतया वन क्षेत्र प्रयोग गरेवापत एउटा बिरुवामा क्षति हुन पुगे कम्तिमा २५ बिरुवा रोपण गर्नुपर्ने प्रावधान रहेको छ ।

वन उपभोक्ता तथा संरक्षणकर्मीहरुलाई वन ऐन तथा नियमावलीका परिवर्तित सन्दर्भका बारेमा कानुनी जागरण गराउन आयोजित कार्यक्रममा उक्त बिषयले प्रवेश पाएको हो । वन पैदावार व्यवसायी संघ ताप्लेजुङसंग मिलेर सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा पूर्वाधारका काममा भएको विरुवाको क्षतिको भरण र संरक्षणका कार्यक्रममा उचित ध्यान नगएको दावी गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझाले पूर्वाधारका काममा भएको वन क्षेत्रको भरणपोषणमा सम्वन्धित निकाय चुकेको बताउनुभयो ।‘त्यसमा पनि जलविद्युत परियोजनाले त वृक्षरोपण र यसको संरक्षण तथा जोगावटमा उचित ध्यान दिन सकेका छैनन्’ओझाले भन्नुभयो । ताप्लेजुङमा २९ वटा जलबिद्युत परियोजनाहरु सञ्चालनमा रहेको र देखिने गरी वृक्षरोपणका काममा सानिमा मध्य तमोर जलविद्युत आयोजनाबाट मात्र काम भएको ओझाको भनाई छ ।

वन क्षेत्र प्रयोग तथा वन सम्पदा हानी नोक्सानी वापत भरणपोषणका लागि गर्नुपर्ने वृक्षरोपणको कार्य हुन नसकेकोप्रति चिन्ता जनाउँदै वन संरक्षण क्षेत्रका अगुवाहरुले यस्ता बिषय सच्चिनुपर्ने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला कोषाध्यक्ष घनेन्द्र थापा वृक्षरोपणको कार्य भएपनि संरक्षण र जोगावटका लागि देखिएको उदासिनता झन् उदेकलाग्दो रहेको बताउँनुहुन्छ । ‘वृक्षरोपण मात्र मात्र भएर पुग्दैन,वृक्षरोपण पछि यसलाई जोगाउने,हुर्काउने र रुखको आकार बनाउने दायित्व पनि एकसाथ आउनु पर्छ’थापाले थप्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम,सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई,नापी कार्यालयका प्रमुख रजिता श्रेष्ठ,डिभिजन वन कार्यालयका सहायक वन अधिकृत देवचन्द्र गोइत,वन पैदावार व्यवसायी संघका सोम लिम्बू,सामुदायिक वन उपभोक्ता महासंघको फुङलिङ नगरपालिका महासंघका अध्यक्ष अम्बर विक समेतले सामुदायिक वन संरक्षण,मौजुदा कानुनी अवस्था र परिवर्तन भएका ऐन तथा नियमावलीहरुका बारेमा जानकारी प्राप्त हुँदाको फाईदा बारे चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा एन्साब नेपालका आयुष भट्टराईले सहजीकरण गर्नु भएको छ। संशोधन,परिमार्जन तथा नयाँ जारी भई लागु भएका वन ऐन,नियमावली र कार्यविधि सहितका बिषय उपभोक्ता समूहका सदस्य सम्मलाई जानकारी गराउन वन पैदावार व्यवसायी संघसंग मिलेर आफुहरुले यो अभियान सुरु गरेको ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङमा अहिले १ सय ३० वटा सामुदायिक वन उपभोक्ता समूह रहेका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts