ताप्लेजुङमा २० बर्ष भन्दा कम उमेरमा गर्भवती हुनेको संख्या सालिन्दा घट्दै,तर रोकिएन बालविवाह

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १२ । ताप्लेजुङमा २० बर्ष भन्दा कम उमेरमा गर्भवती हुनेको संख्या क्रमशः घट्दै गएको पाइएको छ ।

गर्भजाँच गराउन स्वास्थ्य संस्थामा आउने संख्यालाई आधार मानेर हेर्दा आर्थिक बर्ष २०७९।८० को तुलनामा आव २०८०।८१ मा २० बर्ष भन्दा कम उमेरमा गर्भवती हुनेको संख्या घट्दै गएको देखिएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार आव २०८०।८१ मा २० बर्षभन्दा कम उमेरका २ सय ८२ जनाले गर्भजाँच गराएका छन् । आव २०७९।८० मा २० बर्षभन्दा कम उमेरका ३ सय ७० जनाले गर्भजाँच गराएका थिए । यो उमेर समूहका घरमा प्रसुति हुनेको संख्या भने आव २०७९।८० भन्दा आव २०८०।८१ मा बढी देखिएका छन् ।

दुलालका अनुसार आव २०७९।८० मा २० बर्ष मुनिका २८ जना घरमै प्रसुति भएका थिए । आव २०८०।८१ मा भने ३० जना घरमै प्रसुति भए । सामान्यतया दक्ष प्रसुतिकर्मी,दक्ष स्वास्थ्यकर्मी र अन्य स्वास्थ्यकर्मीबाट प्रसुति गराउउँदा स्वास्थ्य जोखिम कम हुन्छ । २०७५ साल भदौ १ गतेबाट लागु भएको मुलुकको देवानी संहिताको परिच्छेद १ मा विवाह सम्वन्धी व्यवस्था उल्लेख छ । प्रचलित कानुनमा विवाह गर्ने उमेर कम्तिमा २० वर्ष हुनुपर्ने उल्लेख छ । २० वर्ष नपुग्दै विवाह गरेमा बाल विवाहको कसुरमा सजाय गरिँदै आएको छ ।

शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि कानुनी रुपमै उमेरको हदबन्दी लगाइएको हो । तर यो उमेर हद हटाउनुपर्ने बिषय समेत बहसको रुपमा आउन थालेको छ । संसदमै पनि यो बिषयले प्रवेश पाएको थियो । जानकारहरुका अनुसार कमै उमेरमा सन्तान जन्माउँदा आमा तथा शिशुको मृत्यु हुने जोखिम उच्च हुन्छ । अपांगता भएका सन्तान जन्मन सक्छन् । बालविवाहपछि उनीहरुले स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमाउँछन् । विवाहपछि बालवालिकाको पढाइ बिग्रने तथा बिरामी हुने,छिटो विवाह गर्दा छिटो बच्चा जन्मने,बालबालिकाको मानसिक शक्तिको विकास हुनबाट वञ्चित हुने समस्या समेत आउन सक्छ । यस्तै गर्भावस्था तथा सुत्केरी हुँदा घरपरिवारबाट सहयोगी व्यवहारको कमी हुने,शारीरिक तथा मानसिक विकास नहुने र व्यवहारिक कुरा बुझ्न नपाउँदै जीवन बर्बाद हुन सक्ने जोखिम भएकोले उमेर नपुगी विवाह र बच्चा जन्माउन कठिन हुने जानकारहरुको तर्क छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts