ताप्लेजुङमा आव २०८०।८१ मा विपद्का घटनाबाट नौ जनाको मृत्यु,तीनजना घाइते

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ४ । ताप्लेजुङमा आर्थिक बर्ष २०८०।८१ को एकबर्षे अवधिमा ६४ वटा विपद्का घटनाबाट ९ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आव २०८०।८१ को बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार आव २०७९।८० बाट चट्याङ र बाढी तथा पहिरोबाट ३–३ गरी ६ जनाको मृत्यु भएको थियो । आव २०८०।८१ मा विपद्का घटनाबाट ६४ निजी घर पूर्ण रुपमा क्षति भएको छ । आव २०७९।८० मा ५८ निजी घर पूर्ण तथा २ घर आशिंक रुपमा क्षति भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले आव २०८०।८१ मा २४ लाख ८ हजार रुपैयाँ राहत रकम बितरण गरेको छ । आव २०७९।८० मा विपद् प्रभावितलाई १५ लाख १८ हजार रुपैयाँ राहत रकम बितरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्ष रहने प्रावधान छ ।
अख्तियार दुरुपयोगका उजुरी बढे,अभद्र व्यवहारका घटे
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा आव २०७९।८० को तुलनामा आव २०८०।८१ मा अख्तियार दुरुपयोग सम्वन्धी उजुरी बढेका छन् । प्रशासन कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार आव २०८०।८१ मा अख्तियार दुरुपयोग सम्वन्धी १० वटा उजुरी दर्ता भए । आव २०७९।८० मा यस प्रकृतिका ६ वटा उजुरी दर्ता भएका थिए । यस्तै अभद्र व्यवहार सम्वन्धी मुद्दा भने एक आर्थिक बर्षमा झिनो संख्याले घटेका छन् । भट्टराईका अनुसार आव २०८०।८१ मा अभद्र व्यवहारका २३ थान मुद्दा दर्ता भएका थिए । आव २०७९।८० मा यो प्रकृतिका २५ थान मुद्दा थिए । प्रशासन कार्यालयले कार्यालयमा कुनैपनि मुद्दा फस्र्योट गर्न बाँकी नरहेको जनाएको छ ।
संस्था दर्ता गर्ने बढे,नविकरण गर्ने घटे
ताप्लेजुङमा सस्था दर्ता गर्ने बढ्दा नविकरण गर्ने भने घटेका छन् । प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार आव २०८०।८१ मा १५ वटा संस्था दर्ता भएका छन् । आव २०७९।८० मा ९ वटा मात्र दर्ता भएका थिए । आव २०८०।८१ मा ६२ वटा संस्थाको नविकरण भएको छ । आव २०७९।८० मा भने ७५ वटा संस्था नविकरण भएका थिए । हातहतियार नविकरण तथा नामसारी गर्ने भने बढेका छन् । आव २०८०।८१ मा ४८ वटा हातहतियार नविकरण हुँदा ६ वटाको नामसारी भएको छ । आव २०७९।८० मा ४४ वटा हातहतियारको नविकरण हुँदा १ वटाको नामसारी भएको थियो । नावालक परिचय–पत्र बितरणको संख्या पनि एक आर्थिक बर्षमा बढेको देखिएको छ । आव २०८०।८१ मा ८४ वटा नावालक परिचय–पत्र जारी भएका छन् । आव २०७९।८० मा ७९ वटा नावालक परिचय–पत्र जारी भएका थिए ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts