‘वातावरण सन्तुलनका लागि वृक्षरोपण र रोपिएका बिरुवाको उचित हेरचाह अनिवार्य’

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २३ । वातावरण सन्तुलनका लागि वृक्षरोपण अनिवार्य सर्त भएपनि रोपण पछि उचित हेरचाह र संरक्षणको अभावमा रोपण गरिएका बिरुवा हुर्कन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

विश्व वातावरण दिवसको अवसर पारेर ताप्लेजुङमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त चिन्ता व्यक्त गरिएको हो । जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले वातावरण सन्तुलनका लागि वृक्षरोपण पहिलो र अनिवार्य सर्त भएको बताउनुभयो । वृक्षरोपण पछि यसलाई हुर्काउन र बढाउनमा कमै ध्यान जाने गरेकोले वृक्षरोपण ‘हलुका’ कार्यक्रम जस्तो हुने गरेको उहाँको भनाई थियो ।

मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले काठको रुपमा प्रयोग हुने रुख कटानको भरणपोषण हुनेगरी बिरुवा रोप्ने र यसको संरक्षण गर्नुर्नेमा जोड दिनुभयो । वातावरण स्वच्छता,हरियालीपनमा बृद्धि र सजीव प्राणीको दिगो जीवनका लागि विश्वका कयौं देशहरुका सडकका दुई भागनै बिरुवाले ढपक्क ढाक्ने गरेको अनुभव सुनाउँदै कार्कीले हामीकहाँ भएका डाँडापाखा बिरुवाले भर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले वृक्षरोपण गर्ने,रोपिएका बिरुवा हुर्काउने र यसको संरक्षण गर्नेमा प्रत्येक व्यक्तिले उचित दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । डिभिजन वन प्रमुख रामजी शाहले सन्तुलित वातावरणका लागि दिगो वन व्यवस्थापन अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझाले वृक्षरोपण गर्ने तर यसको उचित संरक्षण र जोगावटमा ध्यान नदिने हो भने वृक्षरोपण भएको र गरिएको कुनै अर्थ नहुने ठम्याउनुभयो । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले प्रत्येक स्थानीय तहले काठ कटान वापत पालिकामा जम्मा हुने रकममा पालिकाको समेत रकम थपेर वन बुट्यान नभएका क्षेत्रमा वृक्षरोपण गर्ने र यसको उचित हेरचाहका लागि हेरालु समेतको प्रवन्ध गर्न स्थानीय तहलाई सुझाव दिनुभयो । डिभिजन वन अधिकृत परमेश्वर पासवानले जलवायु परिवर्तन अनुकूलनका लागि पनि वृक्षरोपण महत्वपूर्ण अभियान सावित हुने बताउनुभयो ।

डिभिजन वन कार्यालय ताप्लेजुङ र सामुदायिक वन उपभोक्ता महासंघले मिलेर कार्यक्रमको आयोजना गरेका हुन् । रोपेको बिरुवा चौपायाको भोजन हुने, रोप्ने व्यक्ति त्यो ठाउँमा फर्केर नजाने,गएपनि आफ्नै हातले रोपेको बिरुवाको अवस्था के छ भन्ने चासो नराख्नाले समस्या नआउनाले समस्या सृजना गरेको सरोकारवालाले बताएका हुन् । कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालय बिराटनगरका वन विज्ञान संकायका प्रशिक्षक तथा अध्ययनरत बिद्यार्थीहरु समेतको सहभागिता रहेको थियो । उहाँहरु‘इन्र्टनसीप’का लागि ताप्लेजुङ आउनु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts