बजेट बारे टोल–टोलमा पुगेर सुझाव माग गर्दै ताप्लेजुङको मैवाखोला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक बर्षमा प्रस्तुत हुने नीति,कार्यक्रम तथा बजेट बारे पालिकाका टोल–टोलमा पुगेर सुझाव संकलन गर्न थालेको छ ।

पालिका अध्यक्ष बिजयप्रकाश वनेमले आगामी आव २०८१।८२ का लागि समुदायस्तरबाटै सुझाव संकलन थालिएको जानकारी दिनुभयो ।‘नीति,कार्यक्रम र बजेटमा समुदायकै अपनत्व जागृत गर्न समुदायका सदस्यको सुझाव लिन थालेका हौं’वनेमले भन्नुभयो । उहाँले उपयुक्त राय सुझाव दिएर पालिकाको नीति,कार्यक्रम र बजेट प्रभावकारी बनाउने कुरामा योगदान दिन पालिका क्षेत्र भित्रका आम नागरिकहरुलाई आवह्वान समेत गर्नु भएको छ । सुझाव संकलनका लागि पालिकाका ६ वटै वडा कार्यालयहरुले समन्वय गरिरहेका छन् ।

प्रत्येक वडाका टोलबस्ति तहमै पुगेर समुदायका सदस्यको सुझाव संकलन गरी सोहि अनुसार आगामी आवको नीति,कार्यक्रम र बजेट तयार पार्ने योजनामा पालिका रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले बताउनुभयो । यसअघि यहाँको सिरिजङ्गा गाउँपालिकाले पनि १५ दिनको समय दिएर बजेटमा स्थानीय समुदायको सुझाव माग गरेको थियो । संबैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गते भित्रमा आगामी आवका लागि नीति,कार्यक्रम र बजेट पेश गरिसक्नु पर्छ । सामान्यतया नीति तथा कार्यक्रम स्थानीय तहका प्रमुख वा अध्यक्षले र बजेट उपप्रमुख वा उपाध्यक्षले पेश गर्ने गरेका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts