कोशी प्रदेश योजना आयोगको आवधिक योजना निर्माणको राय सुझाव संकलन कार्य ताप्लेजुङमा पुगेर सकियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १० । कोशी प्रदेशको दोस्रो ५ बर्षे आवधिक योजना निर्माणमा जुटीरहेको प्रदेश योजना आयोगले प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यको उपस्थितिमा हिमाली जिल्ला ताप्लेजुङमा पुगेर जिल्ला स्तरीय सुझाव संकलन कार्य पूरा गरेको छ ।
सोमवार ताप्लेजुङमा सुझाव संकलनसंगै राय संकलनको जिल्लागत दौडाहा पूरा भएको प्रदेश योजना आयोगका सचिव मिमांसु अधिकारीले जानकारी दिए । प्रदेश योजना आयोगले त्रिभुवन विश्व विद्यालय डिग्री क्याम्पस बिराटनगरका प्राध्यापकहरुलाई आवधिक योजना निर्माणको विज्ञको जिम्मेवारी दिएको छ ।

विज्ञ टोलीका प्रमुख डाक्टर प्रमोद झाले विकास आवश्यकता भएपनि विकास संस्कृति बन्न नसकेका कारण ५ बर्षे आवधिक योजना(२०८१।८२–२०८५।८६)मा स्थानीय समुदायको इच्छा र आकाँक्षा अनुसार योजना तथा कार्यक्रम तय हुनेगरी सुझाव संकलनको कार्य भएको बताउनुभयो । माटोप्रतिको चिन्तन र माया भयो भने मात्रै विकास संस्कृति बन्ने उहाँको भनाई थियो । योजना छनौट तल्लो तह,सीमान्कृत समुदाय र क्षेत्रबाट हुनुपर्ने आवश्यकताका आधारमा जिल्ला तहमा पुगेर सरोकारवालाको सुझाव संकलन गरिएको विज्ञ टोलीका सदस्य डाक्टर डिल्ली प्रसाँईले बताउनुभयो ।

विज्ञ टोली प्रमुख झाले प्रतिव्यक्ति आम्दानी विकासको सूचक भएपनि आर्थिक विकासको प्रभाव तल्लो तहसम्म नपुगेको अवस्थामा त्यो विकास नभई आर्थिक बेइमानी हुने बताउनुभयो । मानव शंसाधनको विकास र व्यवस्थापनमा उचित ध्यान दिन नसक्दा विकासको चक्र फितलो भएको उहाँको भनाई थियो ।

राजनीतिलाई विकासले सुरक्षा गर्ने भएपनि नैतिकतालाई राजनीतिमा समाहित गर्न नसक्दा नेपालले विकासको सकारात्मक लय समाउन नसकेको डाक्टर झाले बताउनुभयो । दृष्टीकोण,इमान्दारिता र दृढताका कारण विकाससिल राष्ट्रहरु विकासको उच्च लयमा रहेको बताउनुभयो । ।‘अरु देश विकासमा प्रतिश्पर्धा गर्छन्,हामी गरिवीसंग लड्दै छौं’डाक्टर झाले राय सुझाव संकलनको उद्देश्य प्रष्ट्याउँदै भन्नुभयो । उहाँले उत्पादकत्व बढाउन बौद्धिक हस्तक्षेपको खाँचो समेत औंल्याउनुभयो ।

स्थानीय समुदायको सुझावका आधारमा प्रदेश योजना आयोगले ५ बर्षे आवधिक योजना बनाउने बताउँदै प्रदेश योजना आयोगका उपाध्यक्ष आचार्यले अब स्मार्ट सिटीमा मात्र केन्द्रित नभई स्मार्ट भिलेजतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । संस्कृति र प्रकृति झल्कने शैक्षिक योजना अहिलेको आवश्यकता रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा ताप्लेजुङका जनप्रतिनिधि,राजनीतिक दल,शैक्षिक अगुवा,नागरिक समाजमा अगुवा,महिला नेतृत्वकर्ता,बिभिन्न समुदाय तथा वर्गका प्रतिनिधिहरुले ताप्लेजुङको विकासका क्षेत्र,सम्भावना र चुनौति बारे लिखित र मौखिक रुपमा धारणा राख्नु भएको थियो । प्रदेश योजना आयोगले सुशासित,खुसी र सम्मुनत प्रदेशको सोच अघि सारी आवधिक योजना निर्माणको कार्य थालनी गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts