पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेशमै पहिलोमा कायमै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ६ । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम भएको छ । सुरुको नतिजा पनि उ पहिलो नै थियो ।

कोशी प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये मैवाखोला गाउँपालिका पहिलो भएको हो । गत फागुन ८ गते राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्य सम्पादन मूल्याङ्कनको नतिजा प्रकाशित गर्दै पुनरावलोकनका लागि ७ दिनको समय दिएको थियो । उक्त समय भित्र पुनरावलोकनका लागि स्थानीय तहले दिएका निबेदन माथि कारवाही गरेर आयोगले अन्तिम नतिजा प्रकाशित गरेको छ । आयोगले कार्य सम्पादन मूल्याङ्कन वापत प्राप्त हुने नतिजाका आधारमा आगामी आर्थिक बर्षमा प्रदान हुने वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गर्ने गर्छ ।

यसअघि पनि प्रदेशमा दोस्रो भएको पाँचथरको याङवरक गाउँपालिका पुनरावलोकन सहितको नतिजामा पनि दोस्रो भएको छ भने ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भोजपुरको पौवा दुङ्मा गाउँपालिकासंग झिनो अंकले पछि पर्दै प्रदेशभरीमा चौथो भएको छ । पौवा दुङ्मा प्रदेशभरीमा तेस्रो भयो । मैवाखोला गाउँपालिकाले ७२.३१ अंक प्राप्त गर्दा पाँचथरको याङवरक गाउँपालिकाले उ भन्दा केहि मात्र अंक अर्थात् ७२.२६ अंक पायो । भोजपुरको पौवा दुङ्माले ७०.७८ अंक प्राप्त गर्दा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले ७०.०३ अंक पाएको छ ।

पुनरावलोकनको नतिजामा स्थानीय तहले यसअघि पाएको अंक भन्दा बढाएका छन् । मैवाखोलाले यसअघि ४८.३१ अंक पाएको थियो । प्रदेशको चौथो तथा ताप्लेजुङ जिल्लामा दोस्रो भएको सिरिजङ्गा गाउँपालिकाले यसअघि ४६.०३ अंक प्राप्त गरेको थियो । अन्तिम नतिजामा पनि फुङलिङ नगरपालिका जिल्लामा तेस्रो भएको छ । उसले ६२.११ अंक पाएको छ । यसअघि उसले ३८.११ अंक पाएको थियो । यस्तै फक्ताङ्लुङ गाउँपालिका ६० अंक सहित चौथौ स्थानमै कायम रहेको छ । उसले प्रारम्भिक नतिजामा ३६.६० अंक पाएको थियो । ५३.२७ अंक सहित पाथीभरा याङ्वरक पाँचौं भएको छ । २९.३७ अंक सहित उ यसअघि पनि सोहि स्थानमा थियो ।

मेरिङदेन गाउँपालिकाले ५१.०३ अंक पाएको छ । यसअघि मेरिङदेन गाउँपालिका २७.०३ अंक सहित छैटौं थियो । सिदिङ्वा गाउँपालिकाले २६.८६ अंकबाट सुधार गरेर अन्तिम नतिजामा ५०.८६ अंक पाएपनि सातौं स्थानको नतिजामा भने अदलबदल भएन । आठराई त्रिबेणी गाउँपालिकाले ४७.९३ अंक पाएको छ । प्रारम्भिक नतिजामा उसको अंक २३.९३ रहेको थियो । यस्तै मिक्वाखोला गाउँपालिकाले ४६.४७ अंक पाएको छ । यसअघि उसले २२.४७ अंक पाएको थियो । कार्य सम्पादन मूल्याङ्कन नतिजामा आठराई त्रिबेणी आठौं र मिक्वाखोला नवौं स्थानमा परेका छन् ।

कार्य सम्पादन मूल्याङ्कन २०७८ को दफा ७ को अधिनमा रही १७ वटा सूचकका आधारमा स्थानीय तहको कार्य सम्पादन नतिजा प्रकाशित गरेको हो ।सम्वन्धित स्थानीय तहले २०८० साल असार १० गते भित्र चालू आर्थिक बर्षको राजश्व र व्ययको अनुमान सम्वन्धित सभामा पेश गरे नगरेको, चालू आवको राजश्व र व्ययको अनुमान सम्वन्धित सभामा २०७९ साल असार मसान्त सम्ममा पारित गरे नगरेको,आव २०८१।८२ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०७९ पुस मसान्त भित्र अर्थ मन्त्रालयमा पेश गरे नगरेको सूचकलाई आधार मानेर प्राप्ताङ्क निर्धारण गरिएको छ ।

यस्तै २०७९।८० को बजेट कार्यान्वयनको बार्षिक समिक्षा गरी तत् सम्वन्धी विवरण २०७९ साल कात्तिक मसान्त भित्र सार्वजनिक गरे नगरेको,२०७९।८० को विनियोजित रकम अनुसारको खर्चको अवस्था,सो आवको लेखा परीक्षणबाट औंल्याएको बेरुजुको अवस्था,स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली(सूत्र) प्रयोग गरे नगरेको,आवधि योजना तर्जुमा गरे नगरेको,शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद बिद्यार्थी भर्ना दर समेतलाई मूल्याङ्कनको आधार बनाईएको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा बिद्यार्थी टिकाउ दर,शैक्षिक सत्र २०७९ मा सामुदायिक बिद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल बिद्यार्थी संख्याको तुलनामा कम्तिमा स्तरीकृत अंक(जिपिए) १.६ वा सो भन्दा उच्च स्तरीकृत अंक प्राप्त गरेका बिद्यार्थीको प्रतिशत,आर्थिक बर्ष २०७९।८० मा ४ पटक गर्भजाँच गर्ने महिलाको अनुपात,सोहि आर्थिक बर्षमा कूल गर्भवती महिलाको संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात र पूर्ण खोप लगाएका बालबालिकाको अनुपात सहितका सूचकका आधारमा स्थानीय तहले प्राप्त गर्ने नतिजा निर्धारण गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts