संक्रमित शुन्य जिल्ला भएको हप्ता दिन नबित्दै ताप्लेजुङमा फेरी देखियो कोरोना

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट न्युज
ताप्लेजुङ,साउन २७ ।
कोरोना संक्रमण शुन्य बनेको हप्ता नबित्दै ताप्लेजुङमा मंगलवार फेरी १ जनामा संक्रमण देखिएको छ । भारतीय सेनामा कार्यरत रही बिदामा घर आउनु भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टी भएको हो । उहाँसहित २१ जनाको स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल बिराटनगर पठाईएकोमा उहाँको रिर्पोट कोरोना पोजेटिभ आएको हो । भारतसहित तेस्रो मुलुकबाट आएका सबैलाई अहिले सदरमुकाम फुङ्लिङस्थित होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको खण्डमा मात्र सम्वन्धित पालिका पठाउने गरिन्छ । उहाँको रिर्पोट कोरोना पोजेटिभ आएपछि उहाँसंगै जिल्ला भित्रिएका तथा ताप्लेजुङ उद्योग बाणिज्य संघको होल्डिङ सेन्टरमा एउटै कोठामा रहेका अन्य २ जनाको रिर्पोट नेगेटिभ आएपनि उहाँहरुलाई समेत डिस्चार्ज गरिएन । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले कोरोना पोजेटिभ रिजल्ट आएका संगै बसेका २ सहित होल्डिङ सेन्टरमा रहेका २४ जना र त्यहाँ सुरक्षा तथा स्वास्थ्यको सिलसिलामा खटिएका जनशक्ति गरी करिव ३० जनाको स्वाब मंगलवारै संकलन गरी पठाउने तयारी भईरहेको जानकारी दिनुभयो । यसअघि ताप्लेजुङमा ७ जनामा कोरोना संक्रमण देखिएकोमा ७ जनाले नै कोरोनालाई जितेर घर फर्किसकेका छन् । कोरोना संक्रमण देखा परेकालाई भने जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रले शक्तिवद्र्धक र जडिबुटीजन्य औषधि प्रदान गरेको केन्द्रका निमित्त प्रमुख टेकनाथ अर्यालले जानकारी दिनुभयो । ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ आत्मबिश्वास दरिलो बनाउन,भयरहितदिन बिताउन र व्यक्तिगत स्वास्थ्य सुरक्षालाई बिशेष ख्याल गर्न कोरोना संक्रमित तथा होल्डिङ सेन्टरमा रहेका सबैलाई आग्रह गर्नु भएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पछिल्ला दिन भारतसहित तेस्रो मुलुकबाट जिल्ला भित्रनेको संख्या अधिक रहेकोले थप होल्डिङ सेन्टर व्यवस्थापनको कार्य समेत भईरहेको जानकारी दिए । १ जना कोरोना पोजेटिभ सहित अहिले ताप्लेजुङ उद्योग बाणिज्य संघको होल्डिङ सेन्टरमा २ महिला र २२ पुरुष गरेर २४ जना रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts