| |

बाबुआमाको नागरिकता नहुँदा छोराछोरी पढ्नबाट बञ्चित

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, फागुन ८ । ताप्लेजुङमा बाबुआमाको नागरिकता नभएका कारण छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमका गुना राई र उहाँकी श्रीमती उर्मिला राईको नागरिकता नभएपछि छोराछोरी पढ्नबाट वञ्चित भएका हुन् । नागरिकता नहुँदा कोही पनि छोराछोरीको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । एसइईको परीक्षा फाराम भर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य छ ।
लिङ्खिमको सिँवामा बसोबास गर्दै आउनुभएका राई दम्पतीको नागरिकता नभएकै कारण उहाँहरूका एक छोरा र तीन छोरीसमेत चार जना छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको हो । पढ्न नपाएपछि राई दम्पतीका छोराछोरीले पढाइ छाडेर कोही मजदुरी गर्न र कसैले अर्काको घरमा घरायसी सहयोगी बनेर काम गर्दै आएका छन् ।
राई दम्पतीका एक मात्र छोरा भने हाल भारतको सिक्किमतिर सामान्य मजदुरी गर्दै आउनुभएको बताइएको छ । यस्तै जेठी छोरीले भारतकै केरलामा विवाह गरी घरजम गर्नुभएको छ । माइली छोरी २१ वर्षीया प्रेमिला राई भने अहिले फुङ्लिङ नगरपालिकाका एक परिवारमा बसेर घरायसी सहयोगीका रूपमा काम गर्दै आउनुभएको छ । आफ्ना बाबुआमाको नागरिकता नहुँदा जन्मदर्ता नै नपाएको र जन्मदर्ता प्रमाणपत्रकै कारण इच्छा हुँदाहुँदै पनि पढ्न नपाएको प्रेमिलाले बताउनुभयो । लिङ्खिमकै सिँवा माध्यमिक विद्यालयमा कक्षा १ देखि पढाइ सुरु गरेर कक्षा १० सम्म पुगेको उहाँले बताउनुभयो । आफ्नो पढाइलाई कक्षा १० सम्म पु¥याए पनि जन्मदर्ता नभएका कारण एसइई दिन नपाएको उहाँले बताउनुभयो । इच्छा हुँदाहुँदै पनि पढ्न नपाएपछि कमजोर पारिवारिक अवस्थाले गर्दा अर्काको घरमा घरायसी सहयोगीका रूपमा बस्न बाध्य भएको उहाँले सुनाउनुभयो ।
दाहिने आँखाको दृष्टिसमेत गुमाउनुभएकी प्रेमिलाले बाबुआमाको नागरिकता बनेमा र आफूले जन्मदर्ता पाएमा अझै पनि पढ्ने रहर भएको बताउनुभयो । उहाँले अहिले कक्षा ८ पढ्दै गर्नुभएकी आफ्नी कान्छी बहिनीले पनि जन्मदर्ताकै कारण पछि एसईई लेख्न नपाउने भन्दै दुःखेसो पोख्नुभयो । सामान्य र सोझो अवस्थाका आफ्नो बाबुआमाको नागरिकताका लागि सहयोग गरिदिन पनि उहाँले सबैसँग अनुरोध गर्नुभएको छ ।
सिँवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमले पढाइमा निकै अब्बल भए पनि जन्मदर्ता नहुँदा प्रेमिलाले एसइई परीक्षामा सामेल हुन नपाएको बताउनुभयो । हाल सिँवा माविमै अध्ययनरत प्रेमिलाकी बहिनीको पनि पढाइ राम्रो रहेको तर जन्मदर्ता नभएकाले समस्या भइरहेको प्रधानाध्यापक गौतमको भनाइ छ । यसअघि प्रेमिलाका दाजु र दिदीले पनि जन्मदर्ता नभएकै कारण पढाइबाट वञ्चित हुनुपरेको थियो । यता राई दम्पतीलाई नागरिकता दिलाउन सुरुदेखि नै गाउँका अगुवा तथा जनप्रतिनिधिले पहल गरे पनि कुनै आधार नभएकाले सम्भव भएको छैन ।
नागरिकता प्राप्तिका लागि आवश्यक कागजात वा कुनै पनि आधार नभएकाले नागरिकता सिफारिस गर्न नसकिएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । राई परिवारलाई नागरिकता दिलाउने पहलस्वरूप जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सम्भावना खोजी भने गरिरहेको अध्यक्ष लिम्बूको भनाइ छ । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले पनि राई दम्पतीको नागरिकता नहुँदा उहाँको परिवारले खेप्दै आएको समस्याबारे अवगत भएको बताउनुभयो ।
नागरिकतासम्बन्धी व्यवस्था अनुसार उहाँहरूलाई नागरिकता उपलब्ध गराउने कुनै आधार नभएको पाइएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो । राई परिवारका लागि नागरिकता प्राप्त गर्नलाई भएको समस्यालाई नागरिकता विभागसम्म जानकारी गराउनुभन्दा अन्य विकल्प नहुने उहाँले बताउनुभयो ।नागरिकताविहीन राई दम्पतीको पुर्ख्यौली थलो पाँचथर जिल्ला बताइए पनि कुन ठाउँ वा स्थानीय तह रहेको भन्ने नखुलेको बताइएको छ । बाजेकै पालादेखि गुना राईको अघिल्लो पुस्ता सिक्किम पलायन भएको तर उहाँको परिवार भने ताप्लेजुङका साथीसँग सिक्किमै भेट भएर यहाँ आउनुभएको बताइएको छ । राईको परिवार लिङ्खिम आएर सुरुदेखि नै सिग्देल थरका एक स्थानीयलाई काम सघाउँदै बस्न थाल्नुभएको हो । उहाँको परिवार हालसम्म त्यहीँ बसेर खेती किसानी गर्दै गुजारा चलाउँदै आउनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts