| |

मैवाखोलामा बहुउद्देश्यीय कभर्डहल निर्माण सुरु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न सुरु गरिएको छ । एकैपटक तीन कोर्टमा ब्याडमिन्टन विधाको खेल सञ्चालन गर्न मिल्नेगरी बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न लागिएको हो ।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बहुउद्देश्यीय कभर्ड हलको सोमबार शिलान्यास गर्नु भएसँगै निर्माण प्रक्रिया सुरु भएको छ । इन्डोर ब्याडमिन्टन खेल सञ्चालन गर्न मिल्ने खालको कभर्ड हल निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।
उहाँकाअनुसार कभर्ड हलमा ४५० जनासम्म दर्शक अटाउन सक्ने प्याराफिट (दर्शक दिर्घा), पोशाक परिवर्तन कक्ष, पार्किङ, चमेना गृह, शौचालयजस्ता संरचना निर्माण गरिने छ । निर्माण सम्पन्न भएपछि कभर्ड हललाई स्थानीय आयस्रोतका रुपमा प्रयोग गरिने पनि अध्यक्ष वनेमको भनाइ छ ।
मैवाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नं. ३ साँघुमा उक्त बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न सुरु गरिएको हो । बहुउद्देश्यीय कभर्ड निर्माणका लागि एक करोड ५० लाख ३१ हजार ७८४ रुपियाँ बजेट रहेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts