शैक्षिक गुणस्तर सुधार्न ताप्लेजुङको आठराई त्रिबेणीद्धारा पालिकाभरीका बिद्यालयलाई अनुदानको प्रवन्ध

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ५ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शैक्षिक गुणस्तर बृद्धिका लागि पालिकाभरीका बिद्यालयहरुलाई अनुदान उपलब्ध गराउन थालेको छ ।

पालिकाले चालू आर्थिक बर्षबाट सबै बिद्यालयहरुलाई यस्तो अनुदान दिन थालेको हो । गाउँपालिका शैक्षिक अनुदान(सामुदायिक बिद्यालय)निर्देशिका २०८० बनाएर पालिकाले यस्तो अनुदान उपलब्ध गराउन थालेको पालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले जानकारी दिनुभयो । उहाँका अनुसार यस्तो अनुदान आवश्यकता तथा प्राथमिकताका आधार थप गर्दै लैजाने प्रवन्ध गरिएको छ । पालिकाले बिद्यालयको सर्वाङ्गिण विकासमा हित गरे वापत पुरस्कार र प्रचलित कानुन बिपरित काम गरे दण्ड तथा सजाय समेतको कडा नीति अख्तियार समेत गरेको छ । पालिकाले बिद्यालयको सञ्चालन तथा व्यवस्थापन,शिक्षक तलवभत्ता,भौतिक व्यवस्थापन,मर्मत सम्भार,फर्निचर,दिवाखाजा,शैक्षिक,साँस्कृतिक तथा खेलकुद सामग्री,छात्रबृत्ति,परीक्षा सञ्चालन,कोचिङ कक्षा,ट्युसन व्यवस्थापन लगायतका शैक्षिक गुणस्तर सुधारका काममा खर्च गर्न पाउने गरी नियमित तथा बिशेष अनुदानको प्रवन्ध गरेको हो । जस अनुसार कक्षा १ देखि ३ तथा कक्षा १ देखि ५ सम्म सञ्चालित बिद्यालयहरुले पालिकाबाट प्रतिबर्ष १०–१० हजार रुपैयाँका दरले अनुदान पाउने छन् ।

कक्षा १ देखि ३ तथा कक्षा १ देखि ५ सम्म सञ्चालित बिद्यालयहरुले आर्थिक बर्ष २०७९।८० बाटै अनुदान पाएका सहित चालू आवबाट सबै बिद्यालयलाई यस्तो अनुदान उपलब्ध गराउन थालिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो । प्राप्त यस्तो अनुदान कुन शीर्षकमा कति प्रतिशतका दरले खर्च गर्ने भन्ने व्यवस्था पालिकाले कार्यविधिमार्फत नै गरेको छ । कक्षा १ देखि ८ सम्म सञ्चालित बिद्यालयले गाउँपालिकाबाट २० हजार रुपैयाँ अनुदान पाउँदा कक्षा १ देखि १० सम्म सञ्चालित बिद्यालयले बार्षिक ७० हजार रुपैयाँ अनुदान पाउने छन् ।

कक्षा ११ र १२ मा दरबन्दी भएका बिद्यालयहरुले बार्षिक ३ लाख रुपैयाँ अनुदान पाउने व्यवस्था गरिएको छ । कक्षा ११ र १२ सञ्चालित तर शुन्य दरबन्दी भएका बिद्यालयहरुले पालिकाबाट बार्षिक ८ लाख रुपैयाँ अनुदान पाउने छन् । नमूना बिद्यालयले पालिकाबाट १५ लाख रुपैयाँ अनुदान पाउने छन् । आठराई त्रिबेणीमा पालिकाको केन्द्र हाङपाङमा सरस्वती मावि नमूना बिद्यालयको रुपमा रहेको छ । नमूना बिद्यालयले प्राप्त भएको अनुदानको बढीमा ५ प्रतिशत मात्र प्रशासनिक शीर्षकमा खर्च गर्न पाउने छन् ।

नमूना बिद्यालयको कक्षाकोठा पूर्ण रुपमा डिजिटलाईट गर्दै लैजाने उद्देश्य पालिकाले लिएको छ । सोहि अनुसार पालिकाबाट प्राप्त अनुदानलाई खर्च गर्नुपर्ने कार्यविधि बनेको छ । नमूना बिद्यालयमा अनिवार्य रुपमा इ–हाजिरीको प्रवन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । शिक्षकले बिद्यालयको कक्षाकोठामा बिताउने समय र प्रभावकारी शिक्षण सिकाईका लागि प्रयोग गर्नुपर्ने सर्तलाई समेत पालिकाले दिएको अनुदानको प्रभावकारी उपयोगिताको आधार बनाईएको छ ।

नमूना बिद्यालयमा शिक्षक तथा बिद्यार्थीको हाजिरी कम्तिमा ९० प्रतिशत हुनुपर्ने,शिक्षक स्टाफको बैठक महिनामा कम्तिमा एकपटक,बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको बैठक कम्तिमा दुई महिनामा एकपटक बसेर शैक्षिक अवस्थाको मापन तथा सुधारका उपाय अवलम्वन गरिएको हुनुपर्ने प्रावधान रहेको छ । कार्यविधि अनुसारका सर्त पूरा गरेमा नमूना बिद्यालयले ५ आर्थिक बर्ष सम्म निरन्तर यस्तो अनुदान पाउन सक्ने व्यवस्था गरिएको छ । यसबाहेक कक्षागत,तहगत र बिषयगत शिक्षक दरबन्दी अनुसारको अनुपात नमिलेको अवस्थामा समेत गाउँपालिकाले थप अनुदानको प्रवन्ध गर्ने नीति लिएको जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts