वन क्षेत्र जर्गेना र जैविक सम्पदा संरक्षणमा क्रियाशिल समूह तथा व्यक्ति पुरस्कृत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २५ ।
सामुदायिक वन दिवसका अवसरमा ताप्लेजुङमा ३ वटा सामुदायिक वन समूह तथा २ जना निजी पारिवारिक वन उत्पादनमा संलग्न व्यक्ति पुरस्कृत भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा डिभिजन वन कार्यालयले उनीहरुलाई पुरस्कृत गरेको हो । डिभिजन वन प्रमुख बीरेन्द्र शाहका अनुसार उत्कृष्ट पहिलो हुने फुङ्लिङ वडा नं ९ स्थित देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहलाई नगद १५ हजार रुपैंया तथा प्रशंसा–पत्र बितरण गरिएको छ । यस्तै दोस्रो हुने मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङस्थित लालीगुराँस सामुदायिक वन समूह नगद १२ हजार तथा प्रशंसा–पत्रद्धारा पुरस्कृत भएको छ । मेरिङ्देन गाउँपालिका स्थित मुर्मिच्यान सामुदायिक वन उपभोक्ता समूहले उत्कृष्ट तेस्रो हुदैं नगद ८ हजार तथा प्रशंसा–पत्र पाएको छ । उता,निजी पारिवारिक वनतर्फ फुङ्लिङ नगरपालिका वडा नं १ का गणेश मादेनले नगद १२ हजार रुपैंयाका साथ पहिलो हुदैं प्रशंसा–पत्र सहितको सम्मान पाउनु भयो भने पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ तिरिङ्गेका खड्गबहादुर पौडेल नगद १० हजार रुपैंया र प्रशंसा–पत्र सहित पुरस्कृत हुनुभयो । डिभिजन वन कार्यालयले वनको कार्ययोजनाको म्याद र कार्यान्वयनको अवस्था,वन संरक्षणमा क्रियाशिलता,लेखा परीक्षण सहितको बार्षिक प्रगति प्रतिबेदनको अवस्था र वन संरक्षण तथा यसको फैलावटमा दिएको योगदानका आधारित रहेर पुरस्कृत हुने उपभोक्ता समूह र पारिवारिक निजी वन उत्पादककर्तालाई सम्मानका लागि मापदण्ड तयार परेको डिभिजन वन कार्यालयका रेञ्जर गंगा इङ्नामले जानकारी दिनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले आयोजना गरेको अन्र्तक्रिया सहितको कार्यक्रममा बक्ताहरुले सामुदायिक वन संरक्षणका लागि र संरक्षण विकासका लागि भन्ने मान्यताबाट अघि बढ्दा मात्र विकास र संरक्षणलाई एउटै बाटोमा हिडाउँन सकिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जलबिद्युत निर्माण,वन्यजन्तु संरक्षण,जलवायु परिवर्तन,पर्यटन पूर्वाधार,सडक सहितका पूर्वाधार निर्माण।जलवायु परिवर्तनका असर र हरितक्रान्तिलाई सामुदायिक वनसंग तुलना गरेर हेर्ने हो भने यसका सम्भावना र चुनौती केलाउन सकिने सुझाव दिनुभयो । देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका सचिव पासाङरिता शेर्पाले वन संरक्षणलाई पहिलो आधार मानेर विकासका अभियान चलाउन सुझाउनुभयो । पत्रकार महासंघका कार्यवाहक जिल्ला अध्यक्ष चन्द्र पन्दाक प्रयासले विकासका नाममा हुने वन अतिक्रमण बिरुद्ध सामुदायिक वन समूहले खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा १ नं प्रदेशसभा सदस्य बलहादुर साम्सोहाङ,जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,उपप्रमुख बमबहादुर भट्टराई(तारा) र सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद ओझा सहितको उपस्थिति रहेको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझाले जैविक सम्पदाको संरक्षण र जर्गेनामा झै क्रियाशिल ढंगले लाग्न सामुदायिक वन उपभोक्ता समूहहरुलाई आग्रह गर्नुभयो । २०५० साल बैशाख २५ गते पहिलो पटक आठराई त्रिबेणी गाउँपालिका वडा नं नं ३ हाङ्पाङ(साविक हाङ्पाङ गाविस वडा नं ९) को भालुवास सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै पहिलो वन उपभोक्ता समूह हो । त्यसयता यहाँ १ सय १७ वटा सामुदायिक वन उपभोक्ता समूह गठन भईससकेको डिभिजन वन कार्यालयले जनाएको छ ।
फोटो ः सामुदायिक वन दिवसका अवसरमा उत्कृष्ट भए बापत देउराली भित्री पुरस्कार प्रदान गर्दै प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ(टोपी लगाएका) र ग्रहण गर्दै वन समूह सचिव पासाङरिता शेर्पा ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts