६ महिनामा ताप्लेजुङको पाथीभरा मन्दिरमा आए ९१ हजार दर्शनार्थी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २९ । चालू आर्थिक बर्ष २०८०।८१ को ६ महिने अवधिमा ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा ९१ हजार दर्शनार्थी आएका छन् ।

पाथीभरा क्षेत्र विकास समितिले गत साउन देखि पुस मसान्त सम्ममा ९१ हजार ७ सय दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेको विवरण सार्वजनिक गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सबैभन्दा बढी दर्शनार्थी कात्तिक महिनामा आएका छन् । सो महिनामा ४९ हजार १ सय ६३ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । कात्तिक पछि मंसिर महिनामा २० हजार १ सय ४६ जना,असोजमा १० हजार ३ सय ४३ जना,पुसमा ५ हजार ६ सय ५५ जना,भदौमा ५ हजार जना र साउनमा १ हजार १ सय २२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले मन्दिरबाट संकलन भएको भेटिपाति हरेक महिना सार्वजनिक गर्न समेत सुरु गरेको छ । कार्यकारी निर्देशक हाङवाङका अनुसार पुस महिनामा मात्र मन्दिरबाट ३५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । क्षेत्र विकास समितिको खातामा मंसिर मसान्त सम्ममा ८ करोड ३५ लाख २३ हजार ५ सय ४८ रुपैयाँ मौज्दात रहेकोमा पुस महिनामा थप भएको रकम सहित खातामा ८ करोड ७० लाख ५२ हजार ५ सय ४८ रुपैयाँ मौज्दात रहेको समेत क्षेत्र विकास समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts