|

लामो समयसम्म भण्डारण गर्न सकिने कृषिउपज खरिद–बिक्री गर्ने ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाको तयारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १३ । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले किसानद्धारा उत्पादित लामो समयसम्म भण्डारण गर्न सकिने कृषिउपज खरिद–बिक्री गर्ने भएको छ ।

जिल्लाकै जेठो उक्त सहकारी संस्थाले चालू आर्थिक बर्षबाट अलैंची,चिराईतो,कोदो र सिलाम सहितका कृषिउपज उत्पादन खरिद गरी बजारमा लैजाने भएको हो । संस्थाका अध्यक्ष टामन सिग्देलद्धारा कृषिउपज उत्पादन खरिद–बिक्री सम्वन्धी प्रस्ताव संस्थाको २३ औं बार्षिक साधारणसभाले पारित गरेसंगै उक्त प्रस्ताव चालू आर्थिक बर्षबाटै कार्यान्वयनमा आउने भएको छ । ताप्लेजुङ नेपालमै सबैभन्दा बढी मात्रामा अलैंची उत्पादन हुने जिल्लाको रुपमा कहलिएको छ । अलैंची व्यवसायी महासंघका अनुसारमा नेपालमा उत्पादन हुनेमध्ये उत्पादनको ४० प्रतिशत हिस्सा ताप्लेजुङले ओगटेको छ । लामो समयसम्म भण्डारण गर्दा समेत नबिग्रने किसानका उत्पादन संस्थागत रुपले खरिद गरी बिक्रीमा लैजाने प्रकृयाले बजार अभावको चिन्ता समेत हटाउने संस्थाको बुझाई छ । ताप्लेजुङमा अलैंची,चिराईतो,कोदो र सिलाम जस्ता उपभोग्य बस्तुहरुको उत्पादनको सम्भावना बलियो रहेकोले स्थानीय स्तरमै बजार व्यवस्थापन गर्न समेत सहज हुने देखेर आफुहरु उक्त निश्कर्षमा पुगेको संस्थाका उपाध्यक्ष खगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

कृषिउपज उत्पादन खरिद–बिक्रीको निर्णयमा पुगेको संस्थाले कृषकलाई सहयोग पुग्नेगरी रसायनिक मलको खरिद–बिक्री सम्वन्धी कार्यलाई निरन्तरता दिने भएको छ । यस्तै किवी फल खेति र गाई पालन कार्यक्रमलाई संथाले सघाउने भएको छ । संस्थाले प्रकोपबाट प्रभावित सदस्यलाई दिइने राहत रकममा प्रतिसदस्य ५ सय रुपैयाँ बृद्धि गर्दै २ हजार ५ सय पु¥याएको छ । दुर्घटनाबाट मृत्यु भएका शेयर सदस्यका परिवारलाई काजक्रिया खर्चवापत १० हजार रुपैयाँ आर्थिक सहयाता प्रदान गर्ने समेत सहकारी संस्थाले निर्णय लिएको छ । सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत चालू आर्थिक बर्षमा आँखा,दाँत,कान,नाक र घाँटी सम्वन्धी स्वास्थ्यको पहुँच पुग्न नसकेका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने संस्थाको निश्कर्ष छ । यस्तै कम्तिमा ५ वटा स्वास्थ्य संस्थालाई एक–एक थान वाटर डिस्पेन्सर प्रदान गर्ने समेत उक्त सहकारी संस्थाले घोषणा गरेको छ ।

दायित्व पूर्तिको स्पष्ट व्यवस्था भई घाटाको सर्त नभएका कुनै किसिमका सहकारी संस्था एकिकरण हुन वा बिलय हुन चाहेमा सो प्रकृयामा खुल्ला रहने निर्णय समेत ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले लिएको छ । संस्थामा हाल ३ हजार १ सय ३५ सदस्य रहेका छन् । सचिव तेजबहादुर भट्टराई खत्रीका अनुसार फुङलिङ नगरपालिकाका ११ वटै वडा,फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ३,४ र ६,मिक्वाखोला गाउँपालिकाको वडा नं १ र २ संस्थाको कार्यक्षेत्रमा समेटिएका छन् । यस्तै मैवाखोला गाउँपालिकाको वडा नं ३ र ४,आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३,४ र ५ तथा पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र २ संस्थाको कार्यक्षेत्रमा पर्ने भट्टराईले जानकारी दिनुभयो ।
संस्थाको खुद नाफा साढे ७८ लाख बढी,गतबर्षको तुलनामा भने घट्यो
लगानी खुम्चिदा ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाको खुद नाफा समेत घटेको छ । कोषाध्यक्ष खड्गबहादुर मोक्तानका अनुसार संस्थाले आर्थिक बर्ष २०७९।८० मा ७८ लाख ११ हजार १ सय २ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो भन्दा अघिल्लो आवमा संस्थाले १ करोड १९ लाख ४५ हजार ९ सय ३८ रुपैयाँ खुद नाफा गरेको थियो । संस्थाको बार्षिक खर्च तथा बिभिन्न कोषमा बितरण हुने रकम कटाई बाँकी रहेको बचत अब संस्थाले शेयर सदस्यहरुलाई लाभाँसको रुपमा बितरण गर्ने छ ।

लगानी नभई संस्थाको कोषमै बढी रकम बसिरहेका कारण मुनाफा समेतमा कम भएको संस्थाका लेखा तथा सुपरीवेक्षण समिति संयोजक तारानाथ बरालले जानकारी दिनुभयो । २०७८।७९ मा संस्थाले ५ करोड ४३ लाख १ हजार ९ सय ७२ रुपैयाँ आम्दानी गरेको थियो । पछिल्लो आव २०७९।८० मा आम्दानी रकम घटेर ३ करोड ८४ लाख ९३ हजार ३ सय ४४ रुपैयाँमा सिमित हुनु र लगानी रकम समेत कम हुनुबाट खुद बचतमा समेत असर परेको बरालले जानकारी बताउनुभयो ।
जेष्ठ शेयर सदस्य देखि उत्कृष्ट उद्यमी सम्म सम्मानित
बार्षिक साधारणसभाको अवसर पारेर संस्थाले जेष्ठ शेयर सदस्य,उत्कृष्ट बचतकर्ता,उत्कृष्ट उद्यमी,उत्कृष्ट समूह र नियमित र सबैभन्दा बढी ब्याज बुझाउने ऋणी समेतलाई सम्मान गरेको छ । फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,जिल्ला सहकारी संघका उपाध्यक्ष चित्राकुमारी लिम्बू सहित अन्य जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा संस्थाले जेष्ठ शेयर सदस्य,उत्कृष्ट बचतकर्ता,उत्कृष्ट उद्यमी,उत्कृष्ट समूह र नियमित र सबैभन्दा बढी ब्याज बुझाउने ऋणी समेतलाई सम्मान गरेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts