पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङ्बाङ नियुक्त

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २१ । ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङ्बाङ लिम्बू नियुक्त हुनुभएको छ । जिल्लाको आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङ निवासी हाङ्बाङ चार वर्षे कार्यकालका निम्ति समितिको कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएको हो ।
संघीय सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले हाङ्बाङलाई पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णयानुसार मंगलबारदेखि कार्यकाल सुरु हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उहाँलाई नियुक्तिपत्र दिएको छ ।
यसअघि फुङ्लिङ नगरपालिका–५ निवासी मनमणि काफ्ले सो पदमा कार्यरत रहनुभएको थियो । काफ्लेको भने गत कात्तिक ७ गते चार वर्षको कार्यकाल पूरा भएको थियो । नवनियुक्त हाङ्बाङ अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव हुनुहुन्छ ।
पाथीभरा (मुक्कुमलुङ) देशकै एक प्रसिद्ध तीर्थस्थल मानिन्छ । यहाँ देश विदेशका गरी वार्षिक लाखौं भक्तजनको आगमन हुने गरेको छ । यस्तै पाथीभरामा वार्षिक करोडौं रुपियाँ भेटी रकम संकलन हुँदै आएको छ ।